अर्थ

सुनको भाउ नयाँ कीर्तिमानतर्फ, प्रतितोला २ लाख ६० हजार नाघ्यो

काठमाडौं । नेपाली बजारमा सुनको मूल्य निरन्तर उकालो लाग्दै नयाँ उचाइमा पुगेको छ । सोमबार सुनको भाउ प्रतितोला २ लाख ६० हजार रुपैयाँ नाघेको छ, जसले बजारमा नयाँ रेकर्ड कायम गरेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको मूल्य सोमबार प्रतितोला २ लाख ६० हजार ७ सय रुपैयाँ निर्धारण गरिएको हो । यसअघि आइतबार सुन प्रतितोला २ लाख ५८ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको थियो ।

सुनसँगै चाँदीको मूल्यमा पनि वृद्धि देखिएको छ । आइतबार प्रतितोला ३ हजार ८ सय ३५ रुपैयाँ रहेको चाँदी सोमबार बढेर ३ हजार ८ सय ७० रुपैयाँ पुगेको महासंघले जनाएको छ ।

अन्तर्राष्ट्रिय बजारमा बहुमूल्य धातुको मूल्य बढ्दै गएपछि त्यसको प्रभाव स्वदेशी बजारमा पनि परेको व्यवसायीहरूको भनाइ छ । सुनचाँदीको मूल्यमा आएको तीव्र वृद्धिले खरिदकर्ताभन्दा व्यापारी र लगानीकर्ताको चासो बढाएको देखिन्छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *