अर्थ

नेपाली उत्पादनको प्रदर्शन थलो बन्दै ‘स्वदेशी बजार २०२५’

काठमाडौं । स्वदेशी उद्योग र उत्पादनलाई प्रोत्साहन गर्ने उद्देश्यका साथ आगामी डिसेम्बर १३ गते ‘स्वदेशी बजार २०२५’ आयोजना हुने भएको छ। नेपाल उद्योग परिसंघ ९सीएनआई० र उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको सहकार्यमा सञ्चालन हुँदै आएको मेक इन नेपाल–स्वदेशी अभियान अन्तर्गत यो प्रदर्शनी हुन लागेको हो।

उद्योग विभागको सहजीकरणमा ललितपुरको सानेपास्थित अन्तर्राष्ट्रिय क्लबमा एकदिने प्रदर्शनी आयोजना गरिने परिसंघले जनाएको छ। “नेपालमै बनेका उत्पादन, नेपालकै पहिचान” भन्ने अवधारणालाई आत्मसात् गर्दै प्रदर्शनीले गुणस्तरीय नेपाली उत्पादनको प्रवर्द्धन, स्वदेशी उद्योग तथा उद्यमको क्षमता अभिवृद्धि र घरेलु उत्पादकलाई बजारसँग जोड्ने लक्ष्य लिएको छ।

प्रदर्शनीमा कृषि तथा एग्रो–प्रविधि, खाद्य तथा प्रशोधित सामग्री, वस्त्र तथा पहिरन, हस्तकला, कला उद्योग, आयुर्वेदिक तथा स्वास्थ्यसम्बन्धी उत्पादन, सजावट सामग्री, चिया तथा पेय पदार्थलगायत क्षेत्रका करिब ४० देखि ५० उद्योग तथा उद्यम सहभागी हुनेछन्। आयोजकका अनुसार तीन हजारभन्दा बढी दर्शक तथा उपभोक्ताको सहभागिता रहने अपेक्षा गरिएको छ।

साना, मझौला तथा घरेलु उद्योगलाई लक्षित गर्दै प्रदर्शनीमा निःशुल्क स्टलको व्यवस्था गरिएको छ भने सर्वसाधारणका लागि प्रवेश पनि निःशुल्क हुनेछ। यस अवसरमा उद्यमीहरूले आफ्ना उत्पादन तथा सेवा प्रत्यक्ष रूपमा प्रदर्शन गर्न पाउनेछन् भने उपभोक्ता, सम्भावित खरीदकर्ता, वितरक तथा व्यवसायिक साझेदारसँग प्रत्यक्ष संवाद र नेटवर्क विस्तारको अवसर मिल्नेछ।

परिसंघ अध्यक्ष वीरेन्द्रराज पाण्डेले ‘स्वदेशी बजार २०२५’ नेपाली उद्योग, सीप, नवप्रवर्तन र उद्यमशीलताको पहिचान उजागर गर्ने साझा मञ्च बन्ने विश्वास व्यक्त गर्नुभयो। स्वदेशी उत्पादनको उपभोग बढ्दै गए राष्ट्रिय अर्थतन्त्र बलियो हुने र घरेलु उद्योगीको मनोबल उच्च हुने उहाँको भनाइ छ। सरकारको स्वदेशी उत्पादन प्रवर्द्धन नीतिलाई समेत यस प्रदर्शनीले व्यवहारिक सहयोग गर्ने अपेक्षा गरिएको छ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *