काठमाडौं । अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रमाथिका निरन्तर आक्रमण र अनुचित टिप्पणीले देशको आर्थिक वातावरण कमजोर बनाइरहेको बताउँदै यसप्रति सबै पक्ष गम्भीर बन्नुपर्ने बताएका छन्। नेपाल आर्थिक पत्रकार संघ (नाफिज) को १६औँ वार्षिक साधारण सभामा बोल्दै उनले निजी क्षेत्रले निर्माण गरेको संरचना जनताको सम्पत्तिसँग जोडिएको भएकाले संरक्षण नै सर्वोत्तम विकल्प रहेको प्रष्ट पारे।
उनले भने, “निजी क्षेत्रले बनाएको सम्पत्ति अन्ततः नेपाली जनताकै हितमा जाने हो। उनीहरू कुनै समयपछि छोडेर जानेछन्, त्यसैले निजी क्षेत्रलाई आक्रमण गर्नु अनुचित हुन्छ। संरक्षण र सम्मान आवश्यक छ।”
‘सही मानिसमाथि गलत कदम चलाएर निरुत्साहित गर्न हुँदैन’
अर्थमन्त्री खनालका अनुसार विधि–प्रक्रिया मिलेन भने सुधार गर्न सकिन्छ, तर सही व्यक्तिमाथि गलत कदम चाल्नुले आर्थिक माहोल नै कमजोर बनाउँछ। उनले भने, “कसैले अपराध गरेको छ भने कानुनी रूपमा सजाय दिनुपर्छ। तर सडक, सामाजिक सञ्जाल वा सञ्चारमाध्यमबाट जथाभाबी टिप्पणी गर्नु उचित होइन।”
जेनजी आन्दोलन भ्रष्टाचारविरोधी जनदबाब
खनालले जेनजी आन्दोलन केवल आर्थिक समृद्धिका लागि नभई, बढ्दो भ्रष्टाचार र शक्तिशाली निकायबाटै भएको दुरुपयोगविरुद्ध उठेको आवाज भएको स्पष्ट पारे। “सेवा प्रवाह पारदर्शी, जवाफदेही र निष्पक्ष बनाउने माग आन्दोलनको मूल आत्मा हो,” उनले स्मरण गराए।
निर्वाचन समयमा नै हुनैपर्ने, अन्योल देशका लागि घातक
आगामी निर्वाचनलाई कुनै पनि बहानामा सार्नु मुलुकलाई अनिश्चिततामा धकेल्ने चेतावनी अर्थमन्त्री खनालले दिए।
“समयमै निर्वाचन हुनु अनिवार्य छ। यसले आर्थिक तथा राजनीतिक स्थिरता दिन्छ,” उनले भने।
उनका अनुसार सरकारले आवश्यक वातावरण बनाउन सक्रिय भूमिका खेलिरहेको छ।
आन्तरिक–वैदेशिक छविमा सुधार आवश्यक
खनालले सबै दल र नागरिकको सहमतिमा सुरक्षित, भयरहित र निष्पक्ष निर्वाचन गराउन सके नेपालले अन्तर्राष्ट्रिय जगतमा सकारात्मक छवि बनाउन सक्ने उल्लेख गरे। उनले थपे, “नेपालको मूल्यांकन बाहिर राम्रो भइरहेको छ। यसलाई जोगाउन र अझ सुदृढ बनाउन सरकार सुधारका काममा अघि बढ्दैछ।”




