काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री कुलमान घिसिङले भारतसँगको द्विपक्षीय ऊर्जा सम्झौताले नेपाललाई प्रत्यक्ष आर्थिक लाभ मिलेको बताएका छन्। राष्ट्रियसभाअन्तर्गतको सार्वजनिक नीति तथा प्रत्यायोजित व्यवस्थापन समितिको बैठकमा बोल्दै मन्त्री घिसिङले सस्तो दरमा ऊर्जा आयात गर्न सकेको बताउँदै करिब १ अर्ब २० करोड रुपैयाँ बचत भएको बताए।
उनका अनुसार द्विपक्षीय सम्झौता हुनु अघि प्रतियुनिट ८ रुपैयाँ १० पैसा पर्नेरहेको विद्युत् मूल्य सम्झौतापछि घटेर ६ रुपैयाँ ९५ पैसा पुगेको छ। ‘सम्झौताले मूल्यमै राहत दिएको छ,’ मन्त्री घिसिङले भने, ‘हाल भारतबाट दैनिक १८० मेगावाट विद्युत् आयात गरिँदैछ, जसले जाडोयामको माग पूरा गर्न मद्दत गरेको छ।’
त्यसैगरी नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक मनोज सिलवालले जाडो महिनामा आन्तरिक उत्पादन कम हुने भएकाले भारतबाट आयात अनिवार्य बनिरहेको बताए। बैठकमा सांसदहरूले ऊर्जा सुरक्षाको दिगो नीति तथा दीर्घकालीन समाधानमा सरकार गम्भीर हुनुपर्ने सुझाव दिएका छन्।




