अर्थ

कैलालीमा धान उत्पादन घट्यो

कैलाली।कैलालीमा यस वर्ष बर्खे धानको उत्पादन घटेको छ । गत वर्षको तुलनामा यस वर्ष बर्खे धानको उत्पादन पाँच दशमलव २६ प्रतिशतले घटेको हो ।

जिल्लास्थित कृषि ज्ञान केन्द्रका सूचना अधिकारी दुर्गाप्रसाद ओझाका अनुसार गत वर्षको तुलनामा यस वर्ष धान उत्पादनमा १७ हजार १३५ ‘मेट्रिकटन’ले कमी आएको छ । यस वर्ष ६८ हजार ५४१ ‘हेक्टर’ क्षेत्रफलमा बर्खे धानखेती गरिएकामा तीन लाख आठ हजार ४३४ मेट्रिकटन धान उत्पादन भएको उनले जानकारी दिए ।

उनका अनुसार गत वर्ष सोही क्षेत्रफलमा धानखेती गरिएकामा तीन लाख २५ हजार ५६९ मेट्रिकटन धान उत्पादन भएको थियो । गत वर्षको तुलनामा यस वर्ष धानको उत्पादकत्व पनि घटेको छ । गत वर्ष धानको उत्पादकत्व चार दशमलव ७५ मेट्रिकटन प्रतिहेक्टर रहेकामा यस वर्ष चार दशमलव पाँच मेट्रिकटन प्रतिहेक्टर रहेको उनको भनाइ छ ।

त्यसैगरी यस वर्ष जिल्लामा ६ हजार ४६१ हेक्टर क्षेत्रफलमा मकैखेती गरिएकामा १५ हजार १९२ मेट्रिकटन मकै उत्पादन भएको तथा १०३ हेक्टर क्षेत्रफलमा कोदोखेती गरिएकामा १५४ मेट्रिकटन कोदो उत्पादन भएको कृषि ज्ञान केन्द्रले जनाएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *