अर्थ

गतआवमा भोजपुरमा ५१ हजार मेट्रिक टन आलु उत्पादन

भोजपुर। भोजपुरमा गत आर्थिक वर्षमा ५१ हजार नौ सय मेट्रिक टन आलु उत्पादन भएको छ। हिउँदे र वर्षे सिजनमा यहाँ ३,२७२ हेक्टर क्षेत्रफलमा आलु खेती गरिएको कृषि ज्ञान केन्द्रले जनाएको छ।

कृषि ज्ञान केन्द्र भोजपुरका सूचना अधिकारी धनश्याम बरालका अनुसार, विगतमा निर्वाहमुखी खेतीमा सीमित किसान मात्र संलग्न थिए भने हाल व्यावसायिक रूपमा आलु खेती गर्ने किसानको सङ्ख्या बढ्दो छ। “आलु किसानको राम्रो आम्दानीको स्रोत बनेको छ,” उनले बताए।

कृषि ज्ञान केन्द्रले उन्नत जातको बीउ वितरण र पकेट क्षेत्र निर्धारण गर्दै किसानहरूलाई प्रोत्साहन कार्यक्रम सञ्चालन गरिरहेको छ। वर्खे आलुको उत्पादन जिल्लामा बढी हुने गरेको किसानहरूले बताएका छन्।

टेम्केमैयुङ–५ मझौलेका किसान धनराज राईले भने, “पहिले बेचबिखनमा समस्या हुन्थ्यो, पिठ्यूँमा बोकेर बजार लग्थ्यौं। तर सडक विस्तारपछि ठेकेदारहरू गाडी लिएर घरमै आउँछन्। यसले किसानलाई उत्पादनको मूल्य समयमा पाउन र बजारसम्म सहज पहुँच बनाएको छ।”

सडक विस्तार र बजार पहुँचका कारण अहिले भोजपुरमा आलु खेती अझ आकर्षक बन्न पुगेको र व्यावसायिक खेतीमा किसानहरूको रुचि बढ्दो रहेको कृषि अधिकारीहरूले जानकारी दिएका छन्।

 

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *