झापा । देशकै प्रमुख नगदे बाली अलैँचीको मूल्य यस वर्ष अभूतपूर्व रूपमा बढ्दै प्रतिमन एक लाख रुपैयाँमा पुगेको छ। केही दिनयता निरन्तर उकालो लागेको मूल्य आज भने हल्का ओरालो लागेको छ।
नेपाल अलैँची व्यवसायी महासङ्घका अध्यक्ष दीपक नेपालका अनुसार अहिले ‘जेजे’ गुणस्तरको अलैँची किसानबाट प्रतिमन एक लाख रुपैयाँमा खरिद भइरहेको छ भने ‘चालू’ गुणस्तरको मूल्य प्रतिमन ९७ हजार रुपैयाँ रहेको छ।
मङ्गलबार जेजे अलैँचीको मूल्य प्रतिमन रु एक लाख दुई हजार पुगेको थियो, जुन यस वर्षको सबैभन्दा उच्च दर हो। आज भने दुई हजार रुपैयाँले घटेर प्रतिमन एक लाखमा स्थिर भएको अध्यक्ष नेपालले बताए।
उनका अनुसार अहिले औलो क्षेत्रका किसानले अलैँची बजारमा पुर्याइसकेका छन् भने लेकाली क्षेत्रका किसानले भर्खर भट्टीमा सुकाउने प्रक्रिया सुरु गरेका छन्। “मूल्य अझै उच्च छ, किसानहरू लाभान्वित भएका छन्,” उनले भने, “अलैँचीलाई त्यसैले ‘खोल्साको सुन’ भनिन्छ।”
नेपालका ४२ जिल्लामा अलैँची खेती हुने गरे पनि कोशी प्रदेशका पाँचथर, ताप्लेजुङ, इलाम, सङ्खुवासभा, खोटाङ, भोजपुर र तेह्रथुम प्रमुख उत्पादक जिल्लाहरू हुन्।
नेपालमा उत्पादित अलैँचीको करिब ९० प्रतिशत भारत निर्यात हुने गरेको छ। भारतमा पुग्ने बित्तिकै त्यहाँ ‘ब्रान्डिङ’ भएर विश्व बजारमा पुनःनिर्यात हुने गरेको व्यवसायीहरूको भनाइ छ। नेपाली अलैँचीले अझै विश्व बजारमा आफ्नै पहिचान बनाउन सकेको छैन।
मेची भन्सार कार्यालयका अनुसार आर्थिक वर्ष २०८१/८२ मा काँकरभिट्टा नाकाबाट रु सात अर्ब ६७ करोड मूल्यबराबरको अलैँची भारत निर्यात भएको थियो। चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो त्रैमासिक अवधिमा भने निर्यात ३३ प्रतिशतले बढेको छ।
सूचना अधिकारी ईश्वरकुमार हुमागाईँका अनुसार साउनदेखि असोजसम्म काँकरभिट्टा नाकाबाट रु एक अर्ब ६७ करोड ९१ लाख ७५ हजार मूल्यबराबरको एक हजार ७२ मेट्रिक टन अलैँची भारत पठाइएको छ।
कृषि विज्ञहरूका अनुसार हालको मूल्यवृद्धिले किसानहरूलाई राहत र उत्साह त दिएको छ तर दीर्घकालीन स्थायित्वका लागि उत्पादन गुणस्तर, प्रशोधन र प्रत्यक्ष निर्यात क्षमता विकासमा सरकारले ध्यान दिनु आवश्यक छ।




