अर्थ

शीतभण्डार नहुँदा किसान मर्कामा

कञ्चनपुर। शुक्लाफाँटा नगरपालिकाका किसान शीतभण्डार (कोल्ड स्टोर) नहुँदा समस्या भोगिरहेका छन्। जिल्लाको एकमात्र निजी शीतभण्डार बन्द भएपछि किसानले उत्पादन गरेका तरकारी तथा मौसमी बाली भण्डारण गर्न नपाउँदा मर्कामा परेका हुन्।

तरकारी उत्पादनमा संलग्न किसानले आलु, काउली, बन्दागोभीलगायत बाली राख्ने ठाउँ नहुँदा बिक्री र व्यवस्थापनमा कठिनाइ भएको बताएका छन्। व्यावसायिक तरकारी किसानहरू सबैभन्दा बढी प्रभावित भएका छन्।

अगुवा किसान चेतराज चौधरीका अनुसार शीतभण्डार अभावमा तरकारी भण्डारणका लागि कैलाली लैजानुपर्ने बाध्यता छ। “ढुवानी र भण्डारण खर्च बढेकाले लागत उच्च पर्छ, बजारमा प्रतिस्पर्धा गर्न गाह्रो हुन्छ,” उनले भने।

कृषक चामबहादुर डगौरले विगतमा शीतभण्डार हुँदा आलुको बीउ सुरक्षित राख्न सजिलो भए पनि अहिले त्यो सुविधा नहुँदा महँगो दरमा बीउ किन्नुपरेको बताए। “घरमै राख्दा आलु कुहिन्छ, सस्तोमा बेच्न बाध्य भयौँ, अहिले दोब्बर मूल्यमा बीउ किन्नुपरेको छ,” उनले गुनासो गरे।

शुक्लाफाँटा नगरपालिका–३ का वडाध्यक्ष नरेन्द्रप्रसाद चौधरीले किसानको हितका लागि स्थानीय तहले पालिकास्तरमै मिनी शीतभण्डार स्थापना गर्नुपर्ने सुझाव दिए। “एक गाउँ एक मिनी शीतभण्डारको व्यवस्था गर्न सके किसानले उत्पादन सुरक्षित राखी उचित मूल्यमा बेच्न सक्छन्,” उनले भने।

नगरपालिकाका कृषि शाखा प्रमुख करनसिंह बुढाऐरले किसानका लागि शीतभण्डार अत्यावश्यक भएको बताए। “पालिकाले सहकारी र निजी क्षेत्रसँग सहकार्य गरी मिनी शीतभण्डार स्थापनाको योजना अघि बढाउनुपर्छ,” उनले भने।

उनका अनुसार पालिकाभित्र तरकारी उत्पादन बढ्दो क्रममा भए पनि भण्डारण, प्रशोधन र बजार व्यवस्थापनमा चुनौती देखिएको छ। नगरपालिकाले हरेक वर्ष शीतभण्डार निर्माणका लागि बजेट विनियोजन गरे पनि स्थान नछनोटिँदा कार्य अगाडि बढ्न सकेको छैन।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *