काठमाडौं। भदौ २३ र २४ मा भएको ‘जेनजी’ प्रदर्शनमा सरकारी र निजी सम्पत्तिमा व्यापक तोडफोड र आगजनी भएको छ। यस घटनामा भएको क्षतिको विवरण संकलन गर्दै बीमा कम्पनीहरूले नेपाल बिमा प्राधिकरणमा दाबी पेश गर्न थालेका छन्।
भदौ ३१ सम्मको विवरण अनुसार कुल २० अर्ब ७० करोड ३८ लाख १४ हजार रुपैयाँ बराबरको बीमा दाबी दर्ता भएको छ। यो दाबी १८ वटा बीमा कम्पनीमा कुल १ हजार ९८४ वटा दाबीको रूपमा आएको प्राधिकरणले जनाएको छ।
सबैभन्दा बढी दाबी ओरिएन्टल इन्स्योरेन्स कम्पनीमा पाँच अर्ब १४ करोड ७९ लाख रुपैयाँ परेको छ। त्यसैगरी, सिद्धार्थ प्रिमियर इन्स्योरेन्समा चार अर्ब ९३ करोड २२ लाख, शिखर इन्स्योरेन्समा दुई अर्ब ३९ करोड चार लाख, आईजीआई प्रुडेन्सियलमा एक अर्ब ५९ करोड ६ लाख, सगरमाथा लुम्बिनी इन्स्योरेन्समा एक अर्ब ४७ करोड ५५ लाख रुपैयाँको दाबी परेको छ।
अन्य कम्पनीहरूमा हिमालयन एभरेस्ट इन्स्योरेन्समा एक अर्ब १५ करोड ६२ लाख, नेको इन्सुरेन्समा एक अर्ब ९ करोड ५३ लाख, सानिमा जीआईसीमा ७८ करोड ९३ लाख, राष्ट्रिय बिमा कम्पनीमा ४९ करोड ५१ लाख, युनाइटेड अजोड इन्स्योरेन्समा ४८ करोड ७४ लाख, नेपाल इन्स्योरेन्समा ४६ करोड ९४ लाख, एनएलजी इन्स्योरेन्समा ३८ करोड ५८ लाख, प्रभु इन्स्योरेन्समा १९ करोड १८ लाख, र नेसनल इन्स्योरेन्समा ६ करोड ८२ लाख रुपैयाँको दाबी परेको छ।
चारवटै माइक्रो निर्जीवन बिमा कम्पनीमा पनि दाबी परेको छ। प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्समा एक करोड १३ लाख, स्टार माइक्रो इन्स्योरेन्समा ६७ लाख सात हजार, नेपाल माइक्रो इन्स्योरेन्समा ५६ लाख ३६ हजार, र ट्रस्ट माइक्रो इन्स्योरेन्समा ४२ लाख रुपैयाँको दाबी भएको प्राधिकरणले जानकारी दिएको छ।




