अर्थ

गभर्नर पौडेलको दाबी : पुनर्निर्माणका लागि स्रोत प्रशस्त, अब सुशासन र कार्यक्षमता नै मुख्य

काठमाडौं। नेपाल राष्ट्र बैंकका गभर्नर डा.विश्वनाथ पौडेलले हालैका प्रदर्शनका क्रममा क्षतिग्रस्त संरचनाको पुनर्निर्माणका लागि स्रोतको कमी नहुने स्पष्ट पारेका छन्। तर, उनले पुनर्निर्माणलाई प्रभावकारी बनाउन सुशासन र प्रशासनिक सुधारलाई प्राथमिकता दिनुपर्नेमा जोड दिएका छन्।

नेपाल आर्थिक पत्रकार समाज (सेजन) को नयाँ कार्यसमितिलाई स्वागत गर्दै गभर्नर पौडेलले आर्थिक विकासलाई दिगो बनाउन कानुनी स्पष्टता अपरिहार्य रहेको बताए। उनका अनुसार, कानुनमा अस्पष्टता हुँदा नीतिगत निर्णय र कार्यान्वयनमा समस्या बढ्ने भएकाले राज्यका सबै निकाय सचेत रहनुपर्ने आवश्यकता छ।

उनले पत्रकारिताको भूमिकालाई विशेष महत्त्व दिँदै भने, “समाचार लेख्दा कानुनी व्याख्या प्रष्ट नभए गलत सन्देश जाने खतरा हुन्छ, त्यसैले सबै क्षेत्रमा स्पष्टता जरुरी छ।” पौडेलले हालैको आन्दोलनमा निजी क्षेत्रका भवनमा भएको क्षतिको प्रसंग जोड्दै व्यवसायीहरूको मनोबल घटेको स्वीकारे। तर, उनले थपे, “अब निजी क्षेत्रको आत्मविश्वास बढाउँदै लगानीमैत्री वातावरण बनाउनै पर्छ। स्वदेशमै लगानी रोक्न सकिने अवस्था बन्यो भने विदेशी लगानी पनि सहजै आकर्षित हुन्छ।”

गभर्नरले राजनीतिक स्थायित्व, लगानीमैत्री वातावरण र निजी क्षेत्रको मनोबललाई अर्थतन्त्र पुनर्जीवनका आधारस्तम्भका रूपमा प्रस्तुत गर्दै प्रणालीगत सुधार आवश्यक रहेको स्पष्ट पारे।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *