राँझा (बाँके)। बाँकेमा अर्बौँ लगानी गरिएको होटल व्यवसायका लागि भारतीय पर्यटक प्रमुख आधार बन्दै गएका छन्।
हालै सञ्चालनमा आएका क्यासिनोमा आउने भारतीय पर्यटकले होटल व्यवसायलाई चलायमान बनाएको होटल एशोसिएसन (हान) बाँकेका उपाध्यक्ष केशव न्यौपानेले जानकारी दिनुभयो। उहाँले भारतीय पर्यटकको सहज आगमन र सत्कारमा ध्यान दिन सके होटल व्यवसायमा थप सकारात्मक प्रभाव पर्ने उल्लेख गर्नुभयो।
होटल व्यवसायी सङ्घ बाँकेका अध्यक्ष रङ्गबहादुर खड्काले होटल व्यवसायमा लगानी बढ्दै गएको बताउँदै पर्यटकको बसाइ लम्ब्याउन सरकारी स्तरबाट पहल आवश्यक रहेको बताए। उनले स्थानीय प्रशासनले सहयोगी भूमिकामा भन्दा व्यवधान पुर्याउने नियत देखाउने समस्या रहेको भन्दै यसतर्फ सचेत रहन आग्रह गरे।
राज्यको दृष्टिकोणमा परिवर्तन आवश्यक रहेको भन्दै अध्यक्ष खड्काले होटल व्यवसायीलाई अभिभावकका रूपमा व्यवहार गर्न आग्रह गरे। उनले सरकारले पर्यटनलाई उद्योगका रूपमा स्थापित गर्न नसकेको र विनियोजित बजेट पनि प्रभावकारी क्षेत्रभन्दा बाहिर खर्च भएको गुनासो गरे।
नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख प्रशान्त विष्टले भने होटल व्यवसायको विकासका लागि सहयोगी नीतिनिर्माणमा पहल गर्ने बताए। उनले नगरको सौन्दर्यकरणमार्फत पर्यटकलाई आकर्षित गर्ने योजनाअनुसार काम भइरहेको जानकारी दिए।




