अर्थ

भोटेकोशी–१ जलविद्युत् आयोजनाको सुरुङ ब्रेकथ्रु, आगामी फागुनदेखि विद्युत् उत्पादन सुरु गर्ने लक्ष्य

काठमाडौं । सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिकामा निर्माणाधीन ४४ मेगावाट क्षमताको भोटेकोशी–१ जलविद्युत् आयोजनाले सोमबार सुरुङ ब्रेकथ्रु सम्पन्न गरेको छ। निजी क्षेत्रको लगानीमा बनेको  आयोजना आगामी फागुनदेखि विद्युत् उत्पादन सुरु गर्ने लक्ष्यसहित अघि बढेको छ।

इलेक्ट्रो पावर कम्पनीको लगानीमा निर्माण भइरहेको आयोजनाले २०८० फागुनमा सुरुङ निर्माण सुरु गरेको थियो। २ किलोमिटर ६३८ मिटर लम्बाइ, ५.२ मिटर चौडाइ र ५.२ मिटर उचाइ भएको सुरुङको फिनिसिङ पूरा गर्न अझै ६ देखि ८ महिना लाग्ने अनुमान गरिएको छ।

भोटेकोशी गाउँपालिका–३ र ४ मा बाँध र वडा नम्बर ५ चाकुमा विद्युतगृहको निर्माण भइरहेको छ। कम्पनीका अध्यक्ष मोहनविक्रम कार्कीका अनुसार करिब ९ अर्ब ५६ करोड लागत अनुमान गरिएको आयोजना सम्पूर्ण रूपमा नेपाली लगानीमै निर्माण भइरहेको हो।

भोटेकोशी नदीमा यो तेस्रो आयोजना हो। यसअघि विदेशी लगानीमा बनेको ४५ मेगावाटको भोटेकोशी आयोजनाबाट विद्युत् उत्पादन भइरहेको छ भने १०२ मेगावाट क्षमताको मध्य भोटेकोशी आयोजनाले मंगलबारदेखि परीक्षण उत्पादन सुरु गर्ने तयारी गरेको छ। यस्तै, मध्य भोटेकोशीकै पावरहाउस नजिकै ४६ मेगावाट क्षमताको भोटेकोशी–५ आयोजना निर्माणको तयारी भइरहेको छ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *