काठमाडौं । नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यानुफ्याक्चर्स एसोसिएसन (नाइमा) द्वारा आयोजित ‘नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२५’ को भव्य शुभारम्भ भएको छ । बुधबार भृकुटीमण्डपस्थित नेपाल पुलिस क्लबको सगरमाथा हलमा आयोजित एक विशेष समारोहबीच उप-प्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले पानसमा बत्ती बालेर एक्स्पोको औपचारिक उद्घाटन गरे ।
उद्योग क्षेत्रका प्रतिष्ठित व्यक्तित्व, सञ्चारकर्मी, व्यवसायी तथा अटोमोबाइल क्षेत्रका अग्रजहरूको बाक्लो उपस्थितिमाझ उद्घाटन सम्पन्न भएलगत्तै प्रदर्शनी सर्वसाधारणका लागि खुला गरिएको थियो । पहिलो दिन नै १५ हजारभन्दा बढी अवलोकनकर्ताको उत्साहजनक सहभागिताले एक्स्पोको रौनक बढाएको थियो ।
कार्यक्रमका प्रमुख अतिथि, अर्थमन्त्री पौडेलले एक्स्पोको तयारी र व्यवस्थापन उत्कृष्ट रहेको बताए । उनले छोटो समयमै नाइमाले यति ठूलो प्रदर्शनी आयोजना गर्न सक्नुले संस्थाको क्षमता र कार्यकुशलता झल्काएको भन्दै प्रदर्शनीको सफलताको शुभकामना व्यक्त गरे ।
नेपालमा भइरहेको भौतिक विकासको चर्चा गर्दै मन्त्री पौडेलले सरकार उद्योगमैत्री वातावरण निर्माण गर्न प्रतिबद्ध रहेको उल्लेख गरे । उनले भने, ‘गुणस्तरीय सडक पूर्वाधारबिना यो अटोमोबाइल क्षेत्रको जस्तो सुकै प्रदर्शनी गरेपनि त्यसको सही सदुपयोग हुन सक्दैन, त्यसैले अहिले सरकारले गुणस्तरीय सडक पूर्वाधारलाई महत्व दिएको छ ।’
कार्यक्रममा नाइमाकी अध्यक्ष ऋतुसिंह वैद्यले यो प्रदर्शनी नेपालकै हालसम्मको सबैभन्दा ठूलो अटोमोबाइल प्रदर्शनी भएको बताउँदै यो क्षण सबैका लागि विशेष रहेको उल्लेख गरिन् । उनले भनिन्, ‘हामी सहकार्य, नवप्रवर्तन र दिगो वृद्धिमा केन्द्रित एउटा नयाँ अध्यायको सुरुवात गर्दैछौँ ।’
उनले मोबिलिटी क्षेत्रले देशको कुल गार्हस्थ्य उत्पादनमा ७.१३ प्रतिशतको योगदान पुर्याएको र १२ लाख ४० हजारभन्दा बढीलाई प्रत्यक्ष तथा अप्रत्यक्ष रोजगारी दिएको तथ्याङ्क प्रस्तुत गरिन् । त्यस्तै, एक्स्पो समितिका संयोजक शिरिष कुमार मुरारकाले यो एक्स्पो केवल सवारीसाधनको प्रदर्शनी मात्र नभई स्मार्ट र समावेशी यातायात प्रणालीतर्फको सामूहिक प्रतिबद्धताको सुरुवात भएको बताए ।
‘नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२५’ मा ५० भन्दा बढी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ब्रान्डहरू सहभागी छन् । साउन २५ गतेसम्म चल्ने यो प्रदर्शनी हरेक दिन बिहान ११ बजेदेखि बेलुका ८ बजेसम्म खुला रहनेछ ।




