काठमाडौं । नेपालका लागि बीवाईडीको आधिकारिक वितरक साइमेक्स इंक प्रालिले इलेक्ट्रिक ह्याचब्याक बीवाईडी एट्टो १ आधिकारिक रुपमा लन्च गरेको गरेको छ ।
विश्वव्यापी रुपमा बीवाईडी सिगल, बीवाईडी डल्फिन मिनी अथवा डल्फिन सर्फ भनिने बीवाईडी एट्टो १ नेपालको सहरी इलेक्ट्रिक मोबिलिटीका लागि गेम चेन्जर बनेर आएको छ । वल्र्ड कार अवाड्र्समा वल्र्ड अर्वन कार अफ द इयर २०२५ को उपाधि समेत प्राप्त गरेको सो प्रतिष्ठित ईभीले मूल्य, सुरक्षा र नवप्रवर्तनको क्षेत्रमा आफूलाई एक कदम अगाडि बढाएको छ ।
‘बीवाईडी एट्टो १ मार्फत हामीले ईभी प्रविधिलाई प्रजातान्त्रिकरण गरेका छौ र नेपाली सडकमा विश्व स्तरीय नवप्रवर्तनलाई ल्याएका छौ’, साइमेक्स इंकका सीईओ साहिल श्रेष्ठले भने, ‘यो एक इन्ट्री लेभल ईभी मात्र होइन, कम्प्याक्ट इलेक्ट्रिक मोबिलिटीतर्फको क्रान्ति समेत हो । यो वर्तमानको अर्वन लाइफस्टाइल र भोलिको हरित भविष्यका लागि डिजाइन गरिएको हो ।’
बीवाईडीको एड्भान्स्ड ई–प्लेटफर्म ३.० मा बनेको र क्रान्तिकारी ब्लेड ब्याट्रीद्वारा सुसज्जित एट्टो १ मा सेल–टु–बडी ९सीटीबी० टेक्नोलोजी रहेको छ, जसले एकीकृत बनावट र गाडीको सुरक्षालाई मजबुत बनाएको छ, जुन ईभीका लागि विशेष रुपमा बनेको छ ।
नेपालमा डाइनामिक र प्रिमियम गरी दुई भेरिएन्टका बीवाईडी एट्टो १ ईभी उपलब्ध हुने छन् । डाइनामिकमा ३०.०८ किलोवाट आवरको ब्याट्री छ, जसले सिंगल चार्जमा २३० किलोमिटरको डब्लुएलटीपी रेन्ज दिन्छ । त्यसैगरी प्रिमियममा ३८.८८ किलोवाट आवरको ब्याट्री छ, जसले ३०० किलोमिटरको डब्लुएलटीपी रेन्ज दिन्छ । यी दुई भेरिएन्टको मूल्य क्रमशः २८ लाख ९५ हजार र ३२ लाख ९९ हजार रुपैयाँ रहेको छ ।




