मुस्ताङ।मुस्ताङको घरपझोङ–५ ढुम्बाका किसान कर्म गुरुङले स्याउखेतीमा पाँच दशकभन्दा बढी समय बिताइसकेका छन् । बाबुबाजेले सुरु गरेको परम्परागत स्याउखेतीलाई निरन्तरता दिँदै गुरुङले पछिल्लो समय आधुनिक प्रविधिमा आधारित हाइब्रिड स्याउखेतीतर्फ पाइला बढाएका छन् ।
१३ वर्षको उमेरमै बुबाको निधनपछि पारिवारिक चिम्ले स्याउ फार्मको जिम्मेवारी सम्हालेका गुरुङले कठिन परिस्थिति र आधारभूत सुविधा नहुँदा पनि खेतीलाई जोगाउँदै ल्याए । हाल गुरुङले आफ्नै तीन सय र लिजमा लिएको दुई सय रोपनी जग्गामा स्याउखेती गर्दै आएका छन् । तीमध्ये आधा फार्ममा परम्परागत र आधामा हाइब्रिड स्याउखेती गरिएको छ ।
गुरुङले मनाङबाट ल्याएका फुजी जातका हाइब्रिड स्याउका बिरुवाबाट उत्साहजनक नतिजा पाएपछि स्याउखेतीको क्षेत्र विस्तार गर्दै आएका छन् । उनले यस वर्ष पाँच हजारभन्दा बढी हाइब्रिड बिरुवा रोप्ने तयारी गरेका छन् । गत वर्ष चार सय मेट्रिक टन स्याउ उत्पादन गरेका गुरुङले यो वर्ष पाँच सय मेट्रिक टन उत्पादन गर्ने लक्ष्य राखेका छन् ।
स्याउखेतीबाट वार्षिक तीन करोड रुपैयाँ बराबरको कारोबार हुने उनले बताए । फार्ममा २५ जना स्थायी र ९० भन्दा बढी अस्थायी कामदारले रोजगारी पाएका छन् । स्याउसँगै च्याङ्ग्रा, घोडा, जर्सी गाई, मौरी पालन गर्दै आएका गुरुङले स्याउका लागि मल उत्पादन र अतिरिक्त आयस्रोत विस्तार गरिरहेका छन् ।
गुरुङले परम्परागत खेती विस्तारै हटाएर हाइब्रिड स्याउखेतीतर्फ जाने योजना बनाएका छन् । तर, सिँचाइ र जग्गा लिजका कानुनी जटिलता समाधान नभएसम्म सम्भावना सीमित हुने बताउँछन् । बेनी–जोमसोम सडक विस्तारले ढुवानी सजिलो भएको र बजारमा मुस्ताङको स्याउको माग बढ्दै गएको उनले बताए ।
जलवायु परिवर्तनका असरहरू देखिन थालेको भन्दै गुरुङले कालीगण्डकी नदीबाट लिफ्टिङ प्रणालीमार्फत सिँचाइ पु¥याउने दीर्घकालीन योजना आवश्यक भएको सुझाव दिएका छन् ।




