काठमाडौं । बुधबार नेप्से परिसूचकमा गिरावट आएको छ। नेप्से १३.६९ अंकले घटेर २,६६४.४७ बिन्दुमा कायम भएको हो। ‘क’ वर्गका कम्पनीको मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि ०.१५ प्रतिशतले घटेको छ।
आज ३०७ कम्पनीका २ करोड २० लाख ७५ हजार कित्ता सेयर खरिदबिक्री भएका छन्। कुल कारोबार रकम ९ अर्ब ९० करोड ७० लाख रुपैयाँ पुगेको छ। अघिल्लो दिन नेप्से २५ अंकले बढ्दा ९ अर्ब ५४ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको थियो।
बुधबार जलविद्युत समूहको सूचक १.१३ प्रतिशतले बढेको छ भने अन्य सबै समूहको सूचकमा गिरावट देखिएको छ। वित्त, होटल तथा पर्यटन, लगानी र अन्य समूहमा एक प्रतिशतको हाराहारीमा गिरावट आएको छ भने बाँकी समूहहरूमा एक प्रतिशतभन्दा कमको गिरावट देखिएको छ।
बजार समग्रमा घटे पनि पिअर इनर्जी, सिनर्जी पावर विकास र बुटवल पावर कम्पनीका लगानीकर्ताले ९ प्रतिशतभन्दा धेरै मुनाफा कमाएका छन्। यता, सप्तकोसी विकास बैंकका लगानीकर्ताले सबैभन्दा धेरै, चार प्रतिशतभन्दा बढी घाटा व्यहोरेका छन्।




