काठमाडौँ । आर्थिक वर्ष २०८१- ८२ को दश महिनामा रेमिटेन्स १३.२ प्रतिशतले वृद्धि भई १३५६ अर्ब ६१ करोड पुगेको छ ।
राष्ट्र बैंकले सार्बजनिक गरेको यस आर्थिक बर्षको १० महिनाको रिपोर्टका अनुसार अघिल्लो वर्षको सोही अवधिमा रेमिटेन्स आप्रवाह १६.९ प्रतिशतले बढेको थियो । २०८२ वैशाख महिनामा रेमिटेन्स आप्रवाह १६५ अर्ब ३० करोड रहेको छ । अघिल्लो वर्षको सोही महिनामा रेमिटेन्स आप्रवाह ११५ अर्ब ९९ करोड रहेको थियो ।
समीक्षा अवधिमा अमेरिकी डलरमा रेमिटेन्स आप्रवाह १०.५ प्रतिशतले वृद्धि भई ९ अर्ब ९६ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह १४.८ प्रतिशतले बढेको थियो । समीक्षा अवधिमा खुद द्वितीय आय (खुद ट्रान्सफर) रु.१४७९ अर्ब ८ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आय १३०१ अर्ब ७५ करोड रहेको थियो ।
समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने नेपालीको संख्या ४ लाख ५ हजार ६१० र पुनः श्रम स्वीकृति लिनेको संख्या २ लाख ८० हजार ३१४ रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या क्रमशः ३ लाख ७३ हजार ३०७ र २ लाख ३६ हजार ३९८ रहेको थियो ।




