काठमाडौं । काठमाडौँ महानगरपालिकामा कार्यरत रहेर अवकाश लिएका इञ्जिनियर रामबाबु महतो कोइरीविरुद्ध भ्रष्टाचारको अभियोगमा विशेष अदालतमा मुद्दा दायर गरिएको छ। चार करोडभन्दा बढीको अकुत सम्पत्ति आर्जन गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनीमाथि कानुनी कारबाही अगाडि बढाएको हो।
अख्तियारको अनुसन्धानमा महतोले आफ्नो वैध आम्दानीको स्रोत देखाउन नसक्ने गरी ४ करोड ५८ लाख ९० हजार ४०३ रुपैयाँभन्दा बढी सम्पत्ति संकलन गरेको देखिएको छ। महतो धनुषा, क्षीरेश्वरनाथ नगरपालिका–५ का स्थायी बासिन्दा हुन् भने हाल काठमाडौँ महानगरपालिका–४, चण्डोलमा बसोबास गर्दै आएका छन्।
आयोगका अनुसार, उनले पदीय मर्यादाविपरीत गैरकानुनी रूपमा श्रीमती माला कुमारी महतोको नाममा जग्गा किन्नुका साथै घर निर्माण, शेयर खरिद र बैंकमा मौज्दात रकम जम्मा गरेका छन्। ती सम्पत्तिहरू वैध श्रोतबाट आर्जन नभएको पुष्टि भएपछि अख्तियारले श्रीमती माला कुमारीलाई सम्पत्ति जफतका लागि सह–प्रतिवादी बनाएको छ।
विशेष अदालतमा दर्ता गरिएको मुद्दामा अख्तियारले रामबाबु महतोमाथि सार्वजनिक पदमा रही भ्रष्टाचार नियन्त्रणसम्बन्धी ऐन विपरीत कार्य गरेको आरोप लगाउँदै उनको सम्पत्ति जफतसहित कारबाहीको माग गरेको छ।
अख्तियारले हालसालै भ्रष्टाचार र अकुत सम्पत्तिविरुद्ध सक्रियता बढाउँदै आएका बेला यो कारबाहीलाई सार्वजनिक सेवामा शुद्धता कायम गर्नको संकेतस्वरूप हेरिएको छ।




