अर्थ

चैते धान समर्थन मूल्यमा नबिकेपछि किसान निराश

भद्रपुर (झापा)।चालु आर्थिक वर्षका लागि सरकारले चैते धानको न्यूनतम समर्थन मूल्य प्रतिक्विन्टल २,८०० रुपैयाँ तोके पनि किसानले त्यसअनुसार धान बिक्री गर्न नसकेको गुनासो गरेका छन्।

सरकारी खरिद प्रक्रिया सञ्चालनमा नआउँदा किसानहरू स्थानीय व्यापारी र दलालको भर पर्न बाध्य भएका छन्। झापाका किसानले बजारमा धानको मूल्य १,५०० रुपैयाँ प्रतिक्विन्टलभन्दा पनि कम पाएको बताउँदै लागतसमेत नउठ्ने गुनासो गरेका छन्।

बाह्रदशीका किसान मनकुमार सङ्ग्रौलाले भन्नुभयो, “सरकारले हामीले उत्पादन गरेको धान उचित मूल्यमा किनिदिने हो भने राहत मिल्थ्यो। तर अहिले त लागतै उठ्दैन।”

खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड, विर्तामोडका प्रमुख राजबहादुर राईका अनुसार कम्पनीसँग धान सुकाउने आवश्यक मेसिनको अभाव भएकाले चालु वर्ष चैते धान खरिद गर्न नसकिने अवस्था रहेको छ। तर, आगामी वर्षदेखि खरिद प्रक्रिया मिलाउने तयारी भइरहेको उनले जानकारी दिए।

अर्जुनधारा नगरपालिका–४ का किसान भीष्मप्रसाद हुमागाईंले समर्थन मूल्य तोके पनि सरकारी खरिद प्रक्रिया अघि नबढेकोप्रति असन्तुष्टि जनाए। “सरकारको उदासीनताका कारण व्यापारीले सस्तो मूल्यमा धान किनेर मनपरी नाफा लिइरहेका छन्,” उहाँले भन्नुभयो, “अर्को वर्षदेखि चैते धानको विकल्प खोज्नुपर्ने अवस्था आएको छ।”

कृषि ज्ञान केन्द्र, झापाका सूचना अधिकारी चेतराज भण्डारीका अनुसार गत वर्ष जिल्लामा २० हजार हेक्टर क्षेत्रफलमा चैते धानखेती गरिएको थियो। प्रतिहेक्टर ५.८१ मेट्रिकटन उत्पादनदरअनुसार कुल १ लाख १६ हजार २०० मेट्रिकटन धान उत्पादन भएको थियो।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *