अर्थ

विदेश फर्किएर गाउँमै सहकारीमार्फत रोजगारी सृजना

इलाम ।सूर्योदय नगरपालिका–१३ र १४ का विदेश फर्किएका युवाले स्थापना गरेको ‘आप्रवासी बहुउद्देश्यीय सहकारी संस्था’ प्रभावकारी बन्दै गएको छ।

वि.सं. २०७९ मा स्थापना भएको सहकारीमा हाल ७३ परिवार आबद्ध छन्। सदस्यले मासिक रु २ सय अनिवार्य र रु ५ सय ऐच्छिक बचत गर्दै आएका छन्। सहकारीले १२ प्रतिशत ब्याजदरमा अधिकतम रु १० हजार ऋण उपलब्ध गराउने व्यवस्था गरेको छ।

सहकारीको ऋणले बालबालिकाको पढाइ, तरकारीखेती, बीउबिजन खरिदलगायत क्षेत्रमा उपयोग हुँदै आएको छ। सहकारीमा विदेश गएका वा फर्किएका सदस्य मात्र आबद्ध हुन पाउँछन्।

वित्तीय साक्षरतामा पनि संस्था सशक्त बन्दै गएको छ। सूर्योदय नगरपालिकाले दिएको तालिमपछि महिलाहरूले अचार उत्पादन व्यवसाय सुरु गरेका छन्। अचार व्यवसायबाट हालसम्म रु ३५ हजार आम्दानी भएको सहकारीले जनाएको छ।

सहकारीले गत वर्ष नगरपालिकाबाट रु १ लाख बराबरको सामग्री सहायता प्राप्त गरेको थियो। भवन निर्माणको तयारी पनि भइरहेको छ।

सहकारीका अध्यक्ष अर्जुन अधिकारीका अनुसार संस्थाले गाउँमै रोजगारी र आत्मनिर्भरता बढाउन उल्लेखनीय भूमिका खेलेको छ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *