अर्थ

कोशी प्रदेशको नयाँ अभियान : कृषक सबैभन्दा अगाडि, जन्मस्थल संरक्षणदेखि जलवायु सम्मेलनसम्म

काठमाडौं । कोशी प्रदेश सरकारले विकास, संरक्षण, भाषा प्रवर्द्धन र सामाजिक रूपान्तरणलाई प्राथमिकता दिँदै नयाँ नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ। सोमबार प्रदेश प्रमुख पर्शुराम खापुङ ले प्रदेशसभा बैठकमा प्रस्तुत गरेको नीति तथा कार्यक्रमले आगामी आर्थिक वर्षका लागि महत्त्वपूर्ण योजनाहरूको खाका प्रस्तुत गरेको हो।

प्रदेश सरकारले कोशी प्रदेशसँग सम्बन्धित राष्ट्रध्यक्ष र प्रधानमन्त्रीको जन्मस्थल संरक्षणलाई प्राथमिकतामा राखेको छ। राष्ट्रिय विभूतिहरूको सम्मानार्थ परिवारसँगको सहकार्यमा उनीहरूको जन्मस्थल र घर संरक्षणको व्यवस्था मिलाइनेछ, प्रदेश सरकारले नीति कार्यक्रममा उल्लेख गरेको छ।

कोशी प्रदेशमा मैथिली र लिम्बू भाषालाई कामकाजको भाषा बनाउने योजना पनि सार्वजनिक भएको छ। प्रदेश सरकारका अनुसार यी भाषाहरूको प्रयोगले स्थानीय स्तरमा संचार र प्रशासनिक कामकाजलाई थप सहज बनाउने उद्देश्य राखिएको छ।

प्रदेशले सडक मानवमुक्त प्रदेश बनाउने महत्वाकांक्षी योजना अघि सारेको छ। यसका साथै, मेरो स्वास्थ्य, मेरो जिम्मेवारीु अभियानमार्फत जनताको स्वास्थ्य साक्षरतामा सुधार गर्ने घोषणा गरिएको छ। यो अभियानले प्रत्येक नागरिकलाई आफ्नो स्वास्थ्यप्रति सचेत र जिम्मेवार बनाउन मद्दत पुर्‍याउने विश्वास प्रदेश सरकारले लिएको छ।

कोशी प्रदेशले जलवायु परिवर्तनका चुनौतीहरूलाई सम्बोधन गर्न कोशी जलवायु सम्मेलन आयोजना गर्ने योजना पनि अघि सारेको छ। साथै, मुख्यमन्त्री अत्यावश्यक सेवा केन्द्रलाई कोशी अत्यावश्यक सेवा केन्द्रका रूपमा रूपान्तरण गर्ने नीति लिएको छ।

कृषकलाई अग्रस्थानमा राख्ने नीति

कोशी प्रदेशले कृषक सबैभन्दा अगाडि अभियानको थालनी गर्ने भएको छ। व्यावसायिक कृषकहरूको ज्ञान र अनुभवको सदुपयोग गर्दै क्षमता अभिवृद्धि गर्ने, अगुवा कृषकलाई सम्मान गर्ने र उनीहरूका सीपलाई नयाँ पुस्तामा हस्तान्तरण गर्ने योजनासहित अभियान अघि बढाइनेछ।

यातायात व्यवस्था कार्यालयमा सुरु गरिएको विद्युतीय भुक्तानी प्रणालीलाई थप सुदृढ गर्दै, सवारी दर्ता, नवीकरण, चालक अनुमतिपत्र जारी गर्ने कार्यलाई पूर्ण रूपमा डिजिटल बनाउने सरकारको लक्ष्य छ।

कोशी प्रदेशको यो नीति तथा कार्यक्रमले संरक्षण, भाषा प्रवर्द्धन, कृषि सुधार र जलवायु परिवर्तन जस्ता क्षेत्रमा गम्भीर ध्यान दिएको देखिन्छ। प्रदेश सरकारले अघि सारेका यी योजनाहरूले समृद्धि र सामाजिक रूपान्तरणको नयाँ आधार तयार पार्ने अपेक्षा गरिएको छ।

नीति तथगा कार्यक्रम २०८२।८३ final

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *