अर्थ

राष्ट्रिय सूचना प्रविधि केन्द्रका पूर्वनिर्देशकसहित पाँच जनामाथि भ्रष्टाचार अभियोग : विशेष अदालतमा मुद्दा दायर

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राष्ट्रिय सूचना प्रविधि केन्द्रका पूर्वनिर्देशक सुनिल पौडेलसहित पाँच जना र एक कम्पनीविरुद्ध भ्रष्टाचार अभियोगमा विशेष अदालत, काठमाडौंमा मुद्दा दायर गरेको छ।

अख्तियारले दायर गरेको मुद्दामा आरआईएससी र एचसीआई सर्भर खरिद प्रक्रियामा ५ करोड ७९ लाख रुपैयाँ अनियमितता गरिएको आरोप छ। अनुसन्धानको क्रममा सर्भर खरिदमा मिलेमतो गरेर लागत अनुमानभन्दा बढी रकम खर्च गरी भ्रष्टाचार भएको प्रमाण फेला परेको अख्तियारले जनाएको छ।

भ्रष्टाचार मुद्दामा राष्ट्रिय सूचना प्रविधि केन्द्रका तत्कालीन सहायक निर्देशक रमेश पोख्रेल, कम्प्युटर इन्जिनियर रामशरण गायक, लेखा अधिकृत निमबहादुर वली, म्याक्स इन्टरनेसनल प्रालि (पुतलीसडक) र कम्पनीका प्रमुख कार्यकारी अधिकृत अकबर हुसेनलाई पनि प्रतिवादी बनाइएको छ।

बोलपत्र प्रक्रियामा मिलेमतोको आरोप
आर्थिक वर्ष २०७५/७६ मासप्लाई, डेलिभरी एन्ड इन्स्टलेसन एन्ड कमिसनिङ अफ आरआईएससी एन्ड एचसीआई सर्भरू को बोलपत्र प्रक्रियामा मिलेमतो गरी अनियमितता भएको अख्तियारको दाबी छ।
राष्ट्रिय सूचना प्रविधि केन्द्रले २६ करोड २९ लाख ५३ हजार ३३५ रुपैयाँ ३३ पैसाको लागत अनुमान प्रस्तुत गरे पनि वास्तविक खर्चमा ठूलो हेरफेर गर्दै अनियमितता गरिएको पाइएको छ।

अख्तियारले प्रत्येक प्रतिवादीसँग पाँच करोड ७९ लाख रुपैयाँ बिगो दाबी गर्दै विशेष अदालतमा मुद्दा दायर गरेको हो। अब अदालतको आदेशपछि कानुनी प्रक्रिया अघि बढ्नेछ। यस घटनाले सरकारी खरिद प्रक्रियामा पारदर्शिता र जवाफदेहिताको गम्भीर प्रश्न खडा गरेको छ। अदालतको फैसला सार्वजनिक भएपछि दोषी ठहर भएमा कानुनी कारबाही हुनेछ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *