
काठमाडौं । नेपाल टेलिकमले आ.व. २०८१/८२ को तेस्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ। वित्तीय विवरणअनुसार कम्पनीको कुल सञ्चालन आय र कुल आम्दानी घटेको भए पनि करअघिको मुनाफामा भने सुधार देखिएको छ।
यस त्रैमासिकमा नेपाल टेलिकमको कुल सञ्चालन आय रु. २५ अर्ब ३१ करोड ७६ लाख रहेको छ। यो रकम गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ०.६४ प्रतिशतले कमी आएको हो। गत वर्षको सोही अवधिमा यो आय रु. २५ अर्ब ४८ करोड १२ लाख थियो।
कुल आम्दानी पनि यसपटक घटेर रु. २८ अर्ब ४३ करोड १५ लाख मा सीमित भएको छ। गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीको कुल आम्दानी रु। ३१ अर्ब २० करोड ४८ लाख थियो, जसअनुसार यो वर्ष ८.८९ प्रतिशतले कमी आएको देखिन्छ।
मुनाफामा सुधारः
सञ्चालनगत खर्चहरूमा कटौती र नीतिगत परिवर्तनका कारण, कम्पनीको करअघिको मुनाफा भने गत वर्षको तुलनामा १६.८२ प्रतिशतले वृद्धि भई रु. ८ अर्ब ६२ करोड ५४ लाख पुगेको छ। गत वर्ष यो मुनाफा रु. ७ अर्ब ३८ करोड ३३ लाख थियो।
तर, खुद मुनाफा भने यस त्रैमासिकमा ४८.६७ प्रतिशतले कमी भई रु. २ अर्ब ८४ करोड २२ लाख मात्र रह्यो। गत वर्षको सोही अवधिमा यो मुनाफा रु. ५ अर्ब ५३ करोड ७५ लाख रहेको थियो।
आईपी सेवाको बढ्दो प्रयोग : अन्तर्राष्ट्रिय कलमार्फत हुने आयमा उल्लेखनीय गिरावट देखिएको छ। स्पेक्ट्रम नवीकरण शुल्क :गत वर्ष एकमुष्ठ रु। २० अर्ब भुक्तानी गर्दा वित्तीय भार परेको थियो। निवृत्तिभरण व्यवस्थापन : यस त्रैमासिकसम्म करिब रु। १३ अर्ब १५ करोड छुट्याइएको छ। प्रतिस्पर्धाको प्रभावः निजी कम्पनीहरूले अत्याधुनिक प्रविधि मार्फत सेवा दिँदा, टेलिकमको बजार हिस्सा घटेको छ। दररेटमा परिवर्तनः सेवाको दरमा गरिएको कटौतीले कम्पनीको आम्दानी घटाएको छ।
प्रति शेयर आम्दानी :नेपाल टेलिकमको प्रति शेयर आम्दानी यस त्रैमासिकमा रु. २१.०५ रहेको छ। देशका दुर्गम क्षेत्रमा समेत सेवाको पहुँच पुर्याउनु परेकाले लागत बढेको छ भने दररेटको गिरावटले आम्दानीमा दबाब परेको छ। यसपटकको वित्तीय विवरणले कम्पनीले दीर्घकालीन सुधारका लागि ठोस योजना बनाउनुपर्ने देखाएको छ।