वीरगञ्ज (पर्सा)। नेपाल बिमा प्राधिकरण मधेस प्रदेश कार्यालयले चालु आर्थिक वर्षको नौ महिनामा जीवन बिमा शुल्कबापत ११ अर्ब १६ करोड ७९ लाख रुपैयाँ सङ्कलन गरेको छ। गत वर्ष भने यस कार्यालयले जीवन बिमा शुल्कतर्फ १४ अर्ब एक करोड २८ लाख रुपैयाँ सङ्कलन गरेको थियो।
उक्त कार्यालयकी प्रमुख प्रीति देवले चालु आर्थिक वर्षको नौ महिनामा ८६ हजार ६७० जनाले जीवन बिमा गरेको जानकारी दिइन्। कार्यालयले सोही अवधिमा दुई अर्ब ५४ करोड ६० लाख रुपैयाँ दाबी भुक्तानी गरेको छ भने अझै ३९ करोड ६४ लाख रुपैयाँ दाबी भुक्तानी गर्न बाँकी रहेको उनले बताइन्।
प्राधिकरणका अनुसार जीवन बिमातर्फ सातवटै प्रदेशबाट चैत मसान्तसम्म एक खर्ब २७ अर्ब तीन करोड रुपैयाँ शुल्क सङ्कलन भएको छ।



