विराटनगर । छ वटा महानगरमध्ये विराटनगर महानगरपालिकामा सबैभन्दा कम बेरुजु देखिएको छ ।महालेखा परीक्षकको कार्यालयले सार्वजनिक गरेको ६२ औँ वार्षिक प्रतिवेदनमा विराटनगर महानगरको बेरुजु शून्य दशमलव ३२ प्रतिशत मात्र देखिएको हो ।
प्रतिवेदनअनुसार आर्थिक वर्ष २०८०/८१ मा विराटनगर महानगरको छ अर्ब ४४ करोड ७६ लाखको लेखा परीक्षण हुँदा जम्मा दुई करोड आठ लाख ५७ हजार मात्र बेरुजु देखिएको हो ।
आव २०८०/८१ मा २१ करोड बेरुजु फछ्र्यौट भएको महानगरको आर्थिक प्रशासन महाशाखाका प्रमुख सञ्जीवकुमार भट्टराईले जानकारी दिए ।
उनका अनुसार आर्थिक वर्ष २०७७/७८ मा एक अर्ब ६३ करोड ५७ लाख ४३ हजार बेरुजु रहेकामा आव २०७८/७९ मा २२ करोड ९४ लाख ८१ हजार थपिएको थियो ।
जसमा आव २०७८/७९ मा एक अर्ब १९ करोड ४२ लाख ५२ हजार बेरुजु फछ्र्यौट गरिएको थियो । २०७८/७९ सम्म कूल बेरुजु ७६ करोड नौ लाख ७२ हजार रहेकामा आव २०७९/८० मा सात करोड ११ लाख ५३ हजार बेरुजु थपिएको थियो । सो आवमा २३ करोड ८३ लाख फछ्र्यौट गरिएको थियो ।
आव २०७९/८० सम्म कूल बेरुजु ५० करोड ३८ लाख २५ हजार बाँकी रहेकामा आव २०८०/८१ मा दुई करोड आठ लाख थपिएको र २१ करोड फछ्र्यौट भई आव २०८०/८१ मा जम्मा ३१ करोड ४६ लाख २५ हजार बेरुजु बाँकी रहेको महानगरपालिकाका आर्थिक प्रशासन महाशाखा प्रमुख भट्टराईले जानकारी दिए ।
गत तीन आर्थिक वर्षको महानगरको कूल बेरुजु एक अर्ब ६३ करोड ५७ लाख ४३ हजार थियो । महानगरको बेरुजु हरेक आव घट्दै गएको उनको भनाइ थियो ।
आव २०७९/८० मा सात करोड ११ लाख ५३ हजार बेरुजु रहेकामा २०८०/८१ मा दुई करोड आठ लाख मात्रै बेरुजु देखिएको छ । जुन शून्य दशमलव ३२ प्रतिशत मात्रै हो ।
महानगरपालिकाका प्रमुख नागेश कोइरालाले आफूले नेतृत्व संहालेदेखि बेरुजुलाई शून्यमा झार्ने लक्ष्यका साथ काम गरिरहेको बताए ।
महानगरपालिकाको नेतृत्वमा आउँदा झण्डै दुई अर्ब बेरुजु रहेकामा अहिले कूल बेरुजु रकम ३१ करोडमा झार्न सफल भएको प्रमुख कोइरालाको भनाइ छ ।




