काठमाडौँ ।वाणिज्य बैंकहरूले जेठ महिनाका लागि निक्षेपको नयाँ ब्याजदर सार्वजनिक गरेका छन्। नयाँ महिना सुरु हुनुअघि नै ब्याजदर निर्धारण गर्नुपर्ने व्यवस्था अनुसार बैंकहरूले यो ब्याजदर निर्धारण गरेका हुन्। तोकिएको नयाँ ब्याजदर बिहीबारदेखि लागू हुनेछ।
बैंकहरूले तोकेको ब्याजदर अनुसार बचत खातामा न्यूनतम ३.०० प्रतिशतदेखि अधिकतम ५.१० प्रतिशतसम्म ब्याजदर निर्धारण गरिएको छ। नेपाल राष्ट्र बैंकको व्यवस्था अनुसार बैंक तथा वित्तीय संस्थाले विभिन्न प्रकारका बचत निक्षेपको ब्याजदरमा २ प्रतिशतभन्दा धेरै अन्तर राख्न पाउने छैनन्। यस अनुसार साधारण तथा विशेष बचत खाताका ब्याजदरहरू निर्धारण भएका हुन्।
बचत खातामा अधिकांश बैंकले तल्लो सीमा ३ प्रतिशत नै राखेका छन्। तल्लो सीमामध्ये सबैभन्दा धेरै एनआईसी एसिया बैंकको ३.१० प्रतिशत छ। त्यस्तै, बचत खातामा सबैभन्दा धेरै ब्याजदरको माथिल्लो सीमा पनि एनआईसी एसिया बैंककै ५.१० प्रतिशत रहेको छ। यो खातामा माथिल्लो सीमामध्ये सबैभन्दा कम नेपाल एसबीआई बैंकको ३.२० प्रतिशत छ।
त्यस्तै, व्यक्तिगत मुद्दती खातातर्फ ३.०० प्रतिशतदेखि ६.६० प्रतिशतसम्म ब्याजदर निर्धारण गरिएको छ। व्यक्तिगत मुद्दतीमा तल्लो तहको सबैभन्दा कम ब्याजदर कृषि विकास बैंकको ३.०० प्रतिशत रहेको छ। तल्लो तहमै सबैभन्दा धेरै ब्याजदर प्रभु बैंकले ५.१० प्रतिशत अफर गरेको छ।
त्यस्तै, व्यक्तिगत मुद्दतीतर्फ माथिल्लो सीमा अनुसार सबैभन्दा धेरै ब्याज एनआईसी एसिया बैंकले ६.६० प्रतिशत दिने जनाएको छ। तल्लो सीमा भने नेपाल बैंकको ५.४५ प्रतिशत रहेको छ।
एक वर्षे व्यक्तिगत मुद्दती निक्षेपको ब्याजदर हेर्दा लक्ष्मी सनराइज बैंकको सबैभन्दा कम ३.५० प्रतिशत र प्राइम कमर्सियल बैंकको सबैभन्दा धेरै ५.७5 प्रतिशत रहेको देखिएको छ।
त्यस्तै, संस्थागत मुद्दती खातातर्फ न्यूनतम ३ प्रतिशतदेखि अधिकतम ५.६० प्रतिशतसम्म ब्याजदर निर्धारण गरिएको छ। यसमा धेरैवटा बैंकले तल्लो सीमामा न्यूनतम ३.०० प्रतिशत ब्याजदर दिँदै आएका छन्। तल्लो सीमामा सबैभन्दा धेरै ब्याज ३.२५ प्रतिशत रहेको छ। हिमालयन, प्राइम र सिद्धार्थ बैंकले यस्तो ब्याजदरको अफर गरेका छन्। त्यस्तै, माथिल्लो सीमामा सर्वाधिक ब्याजदर निर्धारण गर्नेमा एनएमबि बैंक र एनआईसी एसिया बैंक रहेका छन्।
त्यस्तै, संस्थागत मुद्दतीको माथिल्लो तहमा सबैभन्दा धेरै ब्याज प्राइम कमर्सियल बैंकले ५.७५ प्रतिशत दिँदा माथिल्लो तहमा न्यूनतम कृषि विकास बैंकको ३.२५ प्रतिशत रहेको छ।
एक वर्षे मुद्दती निक्षेपमा बैंकहरूले न्यूनतम ३ प्रतिशतदेखि अधिकतम ५ प्रतिशतसम्म ब्याज दिँदै आएका छन्। एक वर्षे मुद्दतीमा ५ प्रतिशत ब्याज दिने बैंक एनआईसी एसिया रहेको छ।




