अर्थ

लमजुङ जलविद्युत्को हब: १७ आयोजनाबाट ३०० मेगावाट उत्पादन

लमजुङ। लमजुङ जिल्ला जलविद्युत्को केन्द्र बन्दै गएको छ। यहाँ हाल १७ वटा जलविद्युत् आयोजनाले विद्युत् उत्पादन गरिरहेका छन्। जिल्लाका मस्र्याङ्दी नदी, दोर्दी, मिदिम, ङादी, स्याँगे र खुदी लगायतका खोलाहरूबाट यी आयोजनाहरूले विद्युत उत्पादन गरिरहेका हुन्।

लमजुङ विद्युत वितरण केन्द्रका प्रमुख मेघनाथ भट्टराईका अनुसार यी १७ आयोजनाबाट करिब ३०० मेगावाट विद्युत् उत्पादन भइरहेको छ। केन्द्रका अनुसार जिल्लामा सबैभन्दा ठूलो ७० मेगावाटको मध्यमस्र्याङ्दी जलविद्युत् आयोजना हो। त्यसपछि ५४ मेगावाटको सुपर दोर्दी ‘ख’, ५० मेगावाटको अपर मस्र्याङ्दी, ३० मेगावाटको न्यादी हाइड्रोपावर, २७ मेगावाटको दोर्दीखोला, २५ मेगावाटको अपर दोर्दी ‘ए’, १२ मेगावाटको दोर्दी–१, ७ मेगावाटको उपर मिदिम, ५ मेगावाटको सिउरीखोला र ४.४ मेगावाटको राँधीखोला आयोजना सञ्चालनमा छन्।

त्यसैगरी, ४–४ मेगावाट क्षमताका खुदीखोला साना जलविद्युत् आयोजना र अपर छन्दीखोला, ३ मेगावाटको मिदिमखोला, २.४ मेगावाटको अपर स्याँगे खोला, २ मेगावाटको छन्दीखोला, १८३ किलोवाटको स्याँगे माइक्रो हाइड्रो र ८० किलोवाटको मिदिम माइक्रो हाइड्रोले पनि विद्युत् उत्पादन गरिरहेका छन्।

जिल्लामा ४० हजार ५४२ ग्राहक रहेको वितरण केन्द्रले जनाएको छ। कार्यालय प्रमुख भट्टराईका अनुसार जिल्लाको अधिकांश भागमा केन्द्रीय विद्युत् प्रसारण लाइन पुगेको छ। चालु आर्थिक वर्षको साउनदेखि चैतसम्म जिल्लामा २ करोड ३९ लाख ८ हजार ९२५.९० युनिट बिजुली बिक्री भएको र त्यसबाट १९ करोड ५३ लाख ५४ हजार रुपैयाँ आम्दानी भएको केन्द्रले जनाएको छ। हाल जिल्लामा ११ वटा जलविद्युत् आयोजना निर्माणाधीन छन्।

निर्माणाधीन आयोजनाहरूमा मस्र्याङ्दी बेँसी ५० मेगावाट, सुपर न्यादी हाइड्रो ४०.२७ मेगावाट, अपर खुदी २१.२१ मेगावाट, न्यादी फिदी २१ मेगावाट, मिदिमखोला–१ १३.४२४ मेगावाट, लोयर न्यादी १२.६ मेगावाट, हिदीखोला ६.८२ मेगावाट, मिडिल मिदिम ४.८ मेगावाट, चेपेखोला क्यास्केड २ मेगावाट, लोदोखोला साना आयोजना १.६ मेगावाट र लोअर मिदिम आयोजना ०.९९६ मेगावाट रहेका छन्। लमजुङमा करिब २५०० मेगावाट क्षमताको विद्युत् उत्पादन गर्न सकिने अनुमान गरिएको छ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *