अर्थ

वसन्ते मकैखेती : एउटै बोटमा तीनदेखि चारवटासम्म घोगालागेपछि किसान उत्साहित

कञ्चनपुर। कञ्चनपुरको बेलडाँडी गाउँपालिका–३ बैवाहाका खडकबहादुर चौधरी विगत पाँच वर्षदेखि वसन्ते मकैखेती गर्दै आइरहेका छन्। वर्णशङ्कर (हाइब्रिड) १२०८ जातको मकैखेतीबाट उनले चार महिनामा ३० हजारदेखि ७० हजार रुपैयाँसम्म आम्दानी गरेका छन्। पाँच कट्ठा जग्गामा लगाएको मकैको एउटै बोटमा तीनदेखि चारवटासम्म घोगा लाग्ने गरेको छ।

उन्नत जातको तुलनामा गुणस्तरीय वर्णशङ्कर जातको मकैखेती गर्दा २५ देखि ३० प्रतिशतसम्म बढी उत्पादन हुने गरेको छ। फागुनको पहिलो हप्ता रोपेको मकै जेठमा उत्पादन लिन सकिने किसान चौधरीले बताए। हरियो मकै खेतबारीबाटै १० देखि १५ रुपैयाँसम्ममा बिक्री हुने गरेको छ। हरियो बिक्री नभएको मकै पाकेपछि बिक्री गरिँदै आएको उनको भनाइ छ।

मकैको डाँठ मेसिनमा काटेर घरमा पालेका बाख्रा, बङ्गुर र भैँसी लगायतका लागि भुसासँगै मिसाएर खुवाउन प्रयोग गरिने गरेको शङ्कर चौधरीले बताए। बैवाहाका १५ भन्दा बढी किसानले चार कट्ठादेखि सात कट्ठा जग्गामा वसन्ते मकैखेती गरेका छन्। मकैको उत्पादन लिएपछि यहाँका किसानले धान रोप्ने भएकाले छोटो अवधिमै पाक्ने मकैखेतीलाई प्राथमिकता दिँदै आएका छन्।

यहाँका किसानले १२०८, अरुण–२ र अरुण–६ जस्ता विभिन्न जातका मकैखेती गरेका छन्। “पाँच कट्ठा जग्गामा लगाएको मकैखेतीबाट गत वर्ष ८० हजार रुपैयाँ आम्दानी भएको थियो,” रामलाल चौधरीले भने, “छोटो अवधिमा सोचेभन्दा बढी आम्दानी हुँदा यस वर्ष पनि मकैखेतीलाई निरन्तरता दिएका छौँ।” वसन्ते मकैखेती गरेका अधिकांश किसानले बाख्रापालन पनि गरेका छन्।

किसानको घरघरमा १० देखि २२ वटासम्म बाख्रापालन गरिएको छ। बाख्रापालन गर्न र सिँचाइका लागि बोरिङ जडान गर्न किसानले सृजनशील सहकारी संस्थाबाट ऋण लिएका छन्। बाख्रा बिक्री गरी धेरै किसानले ऋण चुक्ता गरिसकेका छन् भने केहीको अन्तिम किस्ता मात्र तिर्न बाँकी छ। बाख्रापालन गरेका किसानले गहुँको भुसासँगै मकैको हरियो डाँठलाई चारोको रूपमा प्रयोग गर्दै आएका छन्।

मकैका बोट निश्चित दूरीमा लगाइने भएकाले गोडमेल गर्न सहज हुनुका साथै सिँचाइ र मलखाद छर्न पनि सजिलो हुने किसान बताउँछन्। झारपात व्यवस्थापनसँगै रोग कीरा रोकथामका लागि किसानले कृषि प्राविधिकसँग नियमित सल्लाह लिने गरेका छन्। वसन्ते मकैखेतीबाट राम्रो आम्दानी हुने भएकाले किसानहरू थप जग्गामा खेती गर्न उत्साहित देखिएका छन्।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *