अर्थ

नवलपुर बागवानीको लिची २८ लाख २५ हजारमा ठेक्का, आँपको ठेक्का खुल्दै

बरहथवा (सर्लाही)। उष्ण प्रदेशीय बागवानी केन्द्र नवलपुरले यस वर्ष अहिलेसम्मकै उच्च मूल्यमा लिची बिक्रीको ठेक्का लगाएको छ। बागवानी केन्द्रका अनुसार यस वर्ष उत्पादन भएको लिची २८ लाख २५ हजार रुपैयाँमा ठेक्का लागेको हो।

केन्द्रले बागवानीमा रहेको लिची बिक्रीका लागि गत चैत २७ गते न्यूनतम २५ लाख ५१ हजार रुपैयाँ बिक्री मूल्य राखेर सूचना प्रकाशित गरेको थियो। सूचना अनुसार दर्ता हुन आएका निवेदनमध्ये हरिवन नगरपालिका–७ स्थित नर्वदा सप्लायर्सले उक्त मूल्यमा लिचीको ठेक्का सकारेको हो।

“यसपटक बागवानीको लिची अहिलेसम्मकै बढी मूल्यमा बिक्री गरेर राजस्व हासिल गर्न सफल भएका छौँ,” केन्द्रका प्रमुख रामकुमार यादवले भने, “पछिल्ला वर्षमा बागवानीको उत्पादनसँगै राजस्व पनि बढेको छ।”

बागवानी र ठेक्का प्रक्रिया दुवै व्यवस्थित हुँदा राजस्व बढेको उनको भनाइ छ। केन्द्रको ८.५ हेक्टर क्षेत्रफलमा ६२१ बोट लिची खेती गरिएको छ। गत वर्ष २७ लाख १५ हजार रुपैयाँमा ठेक्का लागेको लिची उत्पादन बढ्दा यस वर्ष ठेक्का मूल्य पनि बढेको उनले बताए। बागवानीमा नौवटा जातका लिची उत्पादन हुँदै आएका छन्।

यस्तै, यहाँ उत्पादन भएको आँप ठेक्काका लागि केन्द्रले यही वैशाख १६ गते सूचना प्रकाशित गरेको छ। न्यूनतम बिक्री मूल्य ७१ लाख ११ हजार रुपैयाँ कायम गरेर सूचना प्रकाशन गरिएको केन्द्रका प्रमुख यादवले जानकारी दिए। आँपको ठेक्का यही वैशाख ३१ गते खोलिने छ। करिब एक सय बिघामा गरिएको आँप खेतीमा छ हजार रूख छन्। त्यसमध्ये बर्सेनि तीन हजार ५०० भन्दा बढी रूखले फल दिने गरेको छ। यहाँको आँप गत वर्ष २१ लाख रुपैयाँमा ठेक्का लागेको थियो। बागवानी केन्द्रमा मालदह, दशहरी, बम्बई, आम्रपाली, मल्लिका र निलम लगायत जातको आँप उत्पादन हुने गरेको केन्द्रका प्रमुख यादवले बताए। ठेकेदार समूहले यहाँ उत्पादन भएको लिची, आँप लगायत फलफूल काठमाडौँ, हेटौँडा, चितवन सहित देशका मुख्य सहरसम्म लैजाने गरेका छन्।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *