अर्थ

धान बालीका लागि थप १ लाख १९ हजार मेट्रिक टन मल ल्याइँदै, अभाव नहुने मन्त्रालयको दाबी

काठमाडौं । आगामी धान बालीका लागि थप १ लाख १९ हजार मेट्रिक टन मल ल्याइने भएको छ ।धान बालीलाई मलको अभाव हुन नदिन उक्त परिमाणमा मल आउने क्रममा रहेको जनाउँदै कृषि तथा पशुपन्छी विकास मन्त्रालयले धान बालीका लागि मलको अभाव नहुने दाबी गरेको छ । धान बालीका लागि आवश्यक पर्ने थप ९४ हजार मेट्रिक टन युरिया र २५ हजार मेट्रिक टन डिएपी मल बाटोमा आउने क्रममा रहेको र जेठको दोस्रो सातासम्म आइपुग्ने मन्त्रालयले जनाएको छ ।

कृषि सामग्री कम्पनी लिमिटेडले ६४ हजार मेट्रिक टन युरिया, २५ हजार डिएपी र साल्ट्र ट्रेडिङ कर्पोरेसनले ३० हजार मेट्रिक टन युरिया ल्याउन लागेका छन् । उक्त मल वैशाखको तेस्रो सातादेखि जेठको दोस्रो साताभित्र भित्रिइसक्ने मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार चालु आर्थिक वर्ष २०८१/८२ को साउनदेखि वैशाख १४ सम्म दुई लाख ७६ हजार ७०५ मेट्रिक टन मल आयात भइरहेको छ । जसमा एक लाख ७१ हजार ८४७ मेट्रिक टन युरिया, ८९ हजार ५ सय ९२ मेट्रिक टन डिएपी र १५ हजार २६५ पोटास छ । ५७ हजार ९८७ मेट्रिक टन मल मौज्दात रहेको मन्त्रालयले जनाएको छ ।

चालु आर्थिक वर्षमा रासायनिक मल खरिद गर्नका लागि सरकारले २७ अर्ब ९५ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ । हालसम्म पाँच लाख ५० हजार मेट्रिक टन टेन्डर आह्वान भइसकेको मन्त्रालयले जनाएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *