जुम्ला । जुम्ला सदरमुकाम खलङ्गामा कृषि, पर्यटन, संस्कृति र औद्योगिक विकासलाई प्रवर्द्धन गर्ने उद्देश्यले १० दिने प्रादेशिक महोत्सव सुरु भएको छ। उद्योग वाणिज्य सङ्घको आयोजनामा सोमबारदेखि सुरु भएको यो महोत्सवले स्थानीय उत्पादनको बजारीकरण, पर्यटनको विकास र सांस्कृतिक सम्पदाको प्रचारप्रसारमा महत्वपूर्ण योगदान पुर्याउने अपेक्षा गरिएको छ।
उद्योग वाणिज्य सङ्घ जुम्लाका अध्यक्ष पुरिचन्द्र देवकोटाले महोत्सव कर्णालीको कृषि, पर्यटन र सांस्कृतिक सम्पदाको प्रचार–प्रसार गर्न तथा औद्योगिक विकासमा सकारात्मक सन्देश प्रवाह गर्न सहयोगी हुने विश्वास व्यक्त गरेका छन्। स्थानीय उत्पादनको बजारीकरण र पर्यटन प्रवर्द्धनका लागि यस्ता महोत्सव आवश्यक रहेको उनको भनाइ छ।
महोत्सवमा कर्णालीका स्थानीय कलाकारहरूको विशेष प्रस्तुति रहनेछ। २२ वटा कक्ष रहेको महोत्सवमा स्थानीय रैथाने बाली, स्थानीय परिकार र हस्तकलाका सामग्री बिक्रीका लागि राखिनेछन्। अध्यक्ष देवकोटाले भने, “हामीले स्थानीय स्वाद र संस्कृतिलाई प्राथमिकता दिएका छौँ। यहाँ आउने अवलोकनकर्ताले जुम्लाको रैथाने परिकार र संस्कारको अनुभव लिन सक्ने छन्।”
महोत्सवको मुख्य उद्देश्य जुम्ला र समग्र कर्णाली प्रदेशको आर्थिक समृद्धिका लागि लगानीका अवसर पहिचान गर्नुका साथै स्थानीय, राष्ट्रिय र अन्तर्राष्ट्रिय लगानी आकर्षित गर्नु रहेको छ। यो महोत्सव वैशाख २४ गतेसम्म सञ्चालन हुनेछ।




