
दोधारा चाँदनी (कञ्चनपुर)। महेन्द्रनगरस्थित महाकाली नदीमा बनेको चार लेनको नयाँ पक्की पुल अहिले पर्यटकहरूको आकर्षक गन्तव्य बनेको छ।
महाकाली पारिको बस्ती दोधारा चाँदनीलाई जोड्ने यो पुलसँगै नदी किनारमा निर्माण भएको आठ किलोमिटर लामो सडक अहिले ‘भाइरल रोड’को नामले चिनिएको छ। सामाजिक सञ्जालमा यस सडक र पुलका सुन्दर तस्बिर तथा भिडियोहरू व्यापक रूपमा फैलिएपछि महेन्द्रनगर पुग्नेहरू यहाँ तस्बिर र भिडियो खिच्न ओइरिने गरेका छन्। पुल अवलोकनका लागि आन्तरिक र बाह्य पर्यटकको संख्या दिनदिनै बढ्दो छ।
शुक्लाफाँटा नगरपालिका–१ का मदन रानाले सामाजिक सञ्जालमा महाकाली पुलबारे थाहा पाएपछि परिवारसहित घुम्न आएको बताए। साँझको समयमा यहाँ घुम्न निकै रमाइलो हुने उनको अनुभव छ। स्थानीयका अनुसार यहाँ छिमेकी मुलुक भारतबाट समेत पर्यटकहरू आउने गरेका छन्।
स्थानीयवासी अमिर तिरुवाले पुलमा आन्तरिक तथा बाह्य पर्यटकको घुइँचो लाग्ने गरेको बताए। महेन्द्रनगर, भारतीय सीमावर्ती सहर र बाहिरी जिल्लाबाट मानिसहरू यहाँ आउने गरेका छन्। पछिल्लो समय दोधारा चाँदनी झोलुङ्गे पुल जाने पर्यटकहरू पनि यो नयाँ पुलमा पुग्ने गरेका छन्। यहाँ विभिन्न म्युजिक भिडियोहरू समेत छायाङ्कन हुने गरेको उनले जानकारी दिए।
पुलबाट महाकाली नदी, दोधारा चाँदनी झोलुङ्गे पुल र शारदा ब्यारेजको मनोरम दृश्य अवलोकन गर्न सकिन्छ। साँझको सूर्यास्तको सुन्दर पृष्ठभूमिमा पुलबाट तस्बिर खिच्न पाउँदा फोटो खिच्नेहरूको विशेष भीड लाग्ने गरेको छ। विसं २०७४ देखि निर्माण सुरु भएको पुल सञ्चालनमा आइसकेको भए पनि पुलसँगै बन्ने अन्य संरचनाहरू निर्माणाधीन अवस्थामा छन्।
महाकाली पुललाई पर्यटकीय गन्तव्यको रूपमा थप विकास गर्न महाकाली पुल आयोजना कार्यालय महेन्द्रनगरले पुलसँगै चारवटा पोखरी निर्माण गर्न लागेको छ। त्यसको छेउछाउमा पाँच हजार बिरुवा रोप्ने योजना पनि रहेको छ। पुल निर्माण गरिरहेको कुमार सिएफइसी जेभीका इन्जिनियर किशोरराज पाण्डेयले पर्यटकलाई आकर्षित गर्न टापुसहितका चारवटा पोखरी निर्माण हुन लागेको जानकारी दिए। पर्यटकहरूले बोटिङ गरेर टापुमा जान सक्नेछन्। पोखरीसँगै हरियालीका लागि पाँच हजार बिरुवा रोपिने योजनाले यस क्षेत्रलाई अझ मनमोहक बनाउने विश्वास लिइएको छ। पछिल्लो समय दैनिक दुई–तीन सय जना पुल अवलोकनका लागि पुग्ने गरेको उनले बताए।
महाकाली पुल आयोजना कार्यालयका अनुसार पुलको उत्तरपट्टि एक वर्ग किलोमिटरभन्दा ठूला दुई र दक्षिणतर्फ शून्य दशमलव तीन वर्गकिलोमिटरका दुई गरी चारवटा पोखरी निर्माण हुँदैछन्। हाल पोखरीका लागि बाँध बाँध्ने काम जारी छ।