अर्थ

दुई दशकपछि निरयघाट सडक स्तरोन्नति, स्थानीयवासीमा खुसीयाली

ढोरपाटन (बागलुङ)। दुई दशकपछि बागलुङको निरयघाट सडक स्तरोन्नति हुँदैछ। विश्व बैंकको लगानीमा ‘सहरी शासकीय पूर्वाधार विकास कार्यक्रम’अन्तर्गत गत असारदेखि गणेश घुम्तीबाट निरयघाट जोडिने सडक स्तरोन्नति गर्न थालिएको हो। यो सडक २०६०/६१ मा निर्माण भएको थियो।

कालीगण्डकी नदीको तटमा रहेको निरयघाट बागलुङवासीको दाहसंस्कार गर्ने मुख्य स्थल पनि हो। सडक स्तरोन्नति नहुँदा मलामीले निकै सास्ती खेप्नुपरेको स्थानीयको गुनासो थियो। साँघुरो र अप्ठ्यारो सडकमा शव बोकेर हिँड्दा धेरै मलामी घाइते समेत भएका थिए। तर अब सडक स्तरोन्नति भएपछि स्थानीयवासी खुसी भएका छन्। बागलुङ नगरपालिका–१ माझी बस्तीका ७५ वर्षीय बलबहादुर माझीले सडकको धुलोले घरको छानो र पिँढी ढाक्ने गरेकोमा अब सहज हुने बताए।

स्थानीय महेन्द्र आचार्यले सडक विस्तार गर्दा स्थानीयसँग समन्वय नगरेको र अव्यवस्थित नाली निर्माणले निरयघाट कुरुप बनेको गुनासो गरे पनि सडक स्तरोन्नतिपछि खनियाघाटवासीको जीवनशैलीमा परिवर्तन आउने विश्वास व्यक्त गरे। माझीबस्तीकी ७५ वर्षीया फूलमाया माझीले सडक व्यवस्थित बन्न थालेपछि धुलो र हिलो कम भएको बताइन्।

फेवा/आशिष जेभीले सात करोड ५० लाख रुपैयाँमा आगामी असार ३० गतेसम्म सडक कालोपत्र गर्ने जिम्मा पाएको छ। निर्माण कम्पनीका इन्जिनियर मनोज शर्माका अनुसार हालसम्म ६० प्रतिशत काम सकिएको छ र मौसमले साथ दिए यो महिनाभित्र निरयघाट सडक कालोपत्र गरिसकिनेछ।

सडक सहज भएपछि निरयघाटमा चहलपहल बढ्ने अपेक्षा गरिएको छ। यहाँ मानव सेवा आश्रमको भवन निर्माणाधीन छ भने वृद्धाश्रम बनिसकेको छ। बागलुङ नगरपालिकाका प्रमुख बुसन्तकुमार श्रेष्ठले निरयघाटलाई ‘इको टुरिजम’का रूपमा विकास गर्न सकिने र सडकले पर्यटन प्रवर्द्धनमा महत्त्वपूर्ण भूमिका खेल्ने बताए। निरयघाट कृषि उत्पादनका लागि पनि उर्वर रहेकाले सडकले किसानलाई बजारसम्म पहुँच पुर्‍याउन सहयोग गर्ने उनको भनाइ छ। यहाँ मत्स्यपालन, तरकारी खेती र एग्रो टुरिजमको पनि राम्रो सम्भावना रहेको उनले बताए।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *