अर्थ

नेपालगञ्जमा पर्यटन चलायमान बनाउन होटलमा लगानी बढ्दो

राँझा (बाँके)।नेपालगञ्जको पर्यटन क्षेत्रलाई निरन्तर चलायमान बनाउन यहाँको होटल व्यवसायमा लगानी बढ्दै गएको छ। सञ्चालनमा रहेका तारे होटलहरूले पूर्वाधार विस्तार र सेवा सुविधाको स्तरोन्नतिमा लगानी थपिरहेका छन् भने नयाँ होटलहरूले पनि ठूलो लगानी गरिरहेका छन्।

नेपालगञ्जमा निर्माणाधीन पाँचतारे होटल ‘पौवा वेस्टर्न’ ले रु एक अर्ब लगानी गर्दैछ। होटल पौवाका अध्यक्ष दुर्गा भण्डारीका अनुसार नेपाली आतिथ्यभित्र अन्तर्राष्ट्रिय स्तरको सुविधा प्रदान गर्ने उद्देश्यले यो लगानी गरिएको हो। पहिलो चरणमा अत्याधुनिक सभा हल र नेपाली रेस्टुरेन्ट सञ्चालनमा आइसकेका छन् भने मुख्य आवास भवन निर्माणाधीन छ। यस क्षेत्रको पर्यटनलाई चलायमान बनाउन आवश्यक पूर्वाधार र सुविधामा कुनै कमी हुन नदिने उनले बताए।

होटल पौवा नेपालगञ्जका प्रबन्धक गिरिराज पाण्डेले यहाँ पाँचवटा फरक स्वादका रेस्टुरेन्ट, चार ठूला र १४ साना सभा हल, सात स्वीट रुमसहित ९६ डिलक्स रूम उपलब्ध हुने जानकारी दिए। नेपालगञ्जकै पहिलो नौ तलाको होटलमा स्पा, स्विमिङ पुल र जिम जस्ता सुविधा पनि रहने उनको भनाइ छ।

यसैगरी, नेपालगञ्जमा सञ्चालित होटल सिटी प्यालेसले पनि पूर्वाधारमा थप लगानी गरी पाँचतारे स्तरको सुविधा दिन सक्षम भएको सञ्चालक लोकेन्द्र अर्यालले बताए। पाँचतारे होटलको मापदण्ड अनुसार पूर्वाधारदेखि सेवा सुविधासम्म थप लगानी गरिएको उनले जानकारी दिए।

होटल व्यवसायी सङ्घ बाँके, नेपालगञ्जका अध्यक्ष रङ्गबहादुर खड्काले कोभिड–१९ र त्यसपछिको आर्थिक मन्दीले थलिएको होटल तथा पर्यटन व्यवसाय सुधारोन्मुख रहेको बताए। यस सुधारलाई थप टेवा दिन सरकारले नीतिगत रूपमै सकारात्मक वातावरण बनाउनुपर्ने उनको भनाइ छ। “बाहिर नकारात्मक कुरा गरिए पनि आर्थिक गतिविधि चलिरहेको छ भन्ने कुरा करोडौं लगानीका होटल खुलिरहनुले देखाउँछ,” खड्काले भने।

सङ्घका संस्थापक अध्यक्ष मदन बिसीले होटल व्यवसायीप्रतिको सकारात्मक दृष्टिकोणले व्यवसायमा सुधार आएको बताए। विगतमा होटलमा बस्नेहरूलाई शङ्काको दृष्टिले हेर्ने गरिए पनि पछिल्लो दुई दशकमा नेपालीहरूको सोचमा व्यापक परिवर्तन आएको उनको भनाइ छ। अहिले विवाहका भोज मात्र नभई कन्यादान जस्तो पवित्र कार्य पनि होटलमा हुन थालेकोले व्यवसायलाई सहयोग पुगेको उनले बताए।

होटल व्यवसायी सङ्घ बाँकेका निवर्तमान अध्यक्ष भीम कँडेलले व्यवसाय सुधारका लागि नेपालगञ्जमा धेरै सम्भावना रहेकोले होटल व्यवसाय र पर्यटन क्षेत्रलाई चलायमान बनाउन तीनै तहका सरकारले निजी क्षेत्रसँग सहकार्य गर्नुपर्ने बताए।

नेपालगञ्ज उपमहानगरपालिकाका नगरप्रमुख प्रशान्त विष्टले कोभिड–१९ का कारण जोखिममा परेको होटल तथा पर्यटन व्यवसाय सुधारोन्मुख अवस्थामा अगाडि बढेकोमा खुसी व्यक्त गर्दै पर्यटनको सम्भावनालाई अवसरमा बदल्न सहकार्य आवश्यक रहेको बताए। “नीतिगत समस्या सुधार गरेर पर्यटनमा दिगो विकास खोजिनुपर्छ,” उनले भने, “ठूलो राजस्व र रोजगारीको क्षेत्र होटल तथा पर्यटनलाई साथ दिन म प्रतिबद्ध छु। भारतीय पर्यटक सहज रूपमा आउने वातावरण बनाउन सरकारले ध्यान दिन जरुरी छ।”

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *