अर्थ

वाणिज्य बैंकहरुको नाफा बढ्यो

काठमाडौं । चालु आर्थिक वर्ष २०८१/८२ को आठ महिनामा वाणिज्य बैंकहरुको खुद नाफा २ दशमलब ८१ प्रतिशत अर्थात् एक अर्ब १८ करोड ९५ लाख रुपैयाँले बढेको छ ।

समीक्षा अवधिमा सञ्चालनमा रहेका २० वटा वाणिज्य बैङ्कले ४३ अर्ब ४९ करोड ६४ लाख रुपैयाँ खुद नाफा आर्जन गरेका हुन् । गत वर्षको फागुनसम्ममा बैङ्कले ४२ अर्ब ३० करोड ६९ लाख रुपैयाँ खुद नाफा गरेका थिए ।

नेपाल राष्ट्र बैंकका अनुसार गत वर्षको सोही अवधिको तुलनामा ११ वटा बैङ्कको नाफा बढेको छ भने नौ वटा बैङ्कको नाफा घटेको छ । नाफा वृद्धि गर्नेमा नेपाल बैंक लिमिटेड अग्रस्थानमा छ । नेपाल बैंकले १ सय ३२ दशमलब ८९ प्रतिशतले नाफामा वृद्धि गरेको छ । उसले दुई अर्ब ९८ करोड ७९ लाख रुपैयाँ आर्जन गरेको छ ।

समीक्षा अवधिमा सर्वाधिक नाफा आर्जन गर्नेमा नबिल बैंक रहेको छ । ग्लोबल आइ.एम.ई बैंक दोस्रो स्थानमा रहेको छ । नबिल बैंकले १ दशमलब ३४ प्रतिशतले बढाएर चार अर्ब ७८ करोड ७६ लाख रुपैयाँ नाफा आर्जन गरेको छ । यस्तै, ग्लोबल आइ.एम.ई बैंक ३७ दशमलब ७६ प्रतिशतले बढाएर चार अर्ब ७२ करोड रुपैयाँ नाफा आर्जन गरेको छ ।

त्यसैगरी, एन.आइ.सी. एसिया बैंकको नाफामा सर्वाधिक संकुचन आएको छ । उसको नाफामा ६७ दशमलब ७४ प्रतिशतको संकुचन आएर ८१ करोड ९९ लाख रुपैयाँमा रहेको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *