अर्थ

असिनाको कहर: सुदूरपश्चिममा गहुँ र तरकारीमा व्यापक क्षति

बैतडी। वर्षासँगै परेको असिनाले सुदूरपश्चिम प्रदेशमा गहुँबाली र तरकारीमा ठूलो क्षति पुर्याएको छ। शनिबार अपराह्न परेको असिनापानीले पाक्न लागेको गहुँबाली, तरकारी तथा फलफूलका बिरुवाहरूमा व्यापक क्षति पुगेको किसानहरूले बताएका छन्।

जिल्लाको दोगडाकेदार, सिगास, सुर्नया गाउँपालिका र पाटन नगरपालिकाका विभिन्न क्षेत्रमा असिनाले तरकारी, फलफूल र अन्नबालीमा क्षति पुर्याएको हो। बैतडीसँगै सुदूरपश्चिम प्रदेशका अन्य जिल्लामा पनि असिनापानीले अन्न र तरकारी बाली नष्ट गरेको खबर छ। अन्नबाली भित्र्याउने समयमा परेको असिनाले पाक्नै लागेको गहुँबालीमा ठूलो नोक्सानी पुर्याएको सिगास गाउँपालिका–९ का रामबहादुर चन्दले जानकारी दिए। असिनाले खेतबारी सेताम्मे भएका छन्। “गहुँ पाकेर भित्र्याउने तयारी भएको थियो, असिनापानीले सबै नष्ट गर्यो,” उनले भने।

दोगडाकेदार–६ सित्तडका दलबहादुर कार्कीले पनि असिनाले गहुँबाली र तरकारीमा क्षति पुर्याएको बताए। फलफूल, आलु, प्याज, लसुन तथा खुर्सानी र बन्दा, काउली, टमाटरका बेर्नाहरूमा क्षति पुगेको उनले जानकारी दिए। “पाक्न थालेको बालीनाली र तरकारी असिनापानीले सबै नष्ट पारेपछि उत्पादनमा कमी आउने देखिएको छ। किसानहरू चिन्तित भएका छन्,” उनले भने। कृषि ज्ञान केन्द्रले अहिलेसम्म एकीन विवरण आउन नसके पनि अन्नबाली र तरकारीमा क्षति पुगेको जनाएको छ।

 

 

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *