अर्थ

तोरीमा विषादी, मह उत्पादनमा समस्या, नवलपुरका मौरीपालक चिन्तित

नवलपुर । नवलपुरका व्यावसायिक मौरीपालक किसानहरू मौरीको चरन क्षेत्रको अभावमा मौरी लिएर पश्चिम नेपालको दाङसम्म पुग्न बाध्य भएका छन्। स्थानीय किसानहरूले अन्नबालीमा विषादीको प्रयोग बढाएपछि मौरीपालकहरूले चरनका लागि मौरी बोकेर भौतारिनुपर्ने अवस्था आएको हो।

नवलपरासी (बर्दघाट–सुस्तापूर्व) गैँडाकोट–४ का व्यावसायिक मौरीपालक विजय मौरी फार्मका सञ्चालक तेजबहादुर रानाले बर्सेनि मौरी चराउन अन्यत्र लैजानुपर्ने बाध्यता रहेको बताए। उनले २० वर्षदेखि स्थानीय जातको मौरी पाल्दै आए पनि पाँच वर्षदेखि व्यावसायिक रूपमा मेलिफेरा जातको मौरीपालन गरिरहेको बताए। ९० घार मौरी पालेका रानाले मौरी चराउन लैजान र ल्याउन धेरै गाह्रो हुने गरेको गुनासो गरे।

नवलपुरमा तोरी र फापरलगायत अन्य खेतीहरू प्रशस्त भए पनि यहाँका किसानले अत्यधिक विषादी प्रयोग गर्ने गरेकाले मौरी बोकेर डुल्नुपर्ने अवस्था आएको उनको भनाइ छ। पश्चिम नेपालको कपिलवस्तु र दाङमा अगौटे तोरी हुने र त्यहाँका किसानले विषादी पनि प्रयोग नगर्ने भएकाले असोजको पहिलो हप्तादेखि मौरी चराउन लैजाने गरेको उनले बताए।

“बर्दघाटबाट पश्चिम लागेपछि त्यहाँका किसानले तोरीमा विषादी हाल्दैनन्, महको उत्पादन पनि राम्रो हुन्छ,” उनले भने, “स्थानीय तोरीमा विषादी बढी हालिने भएकाले मौरी मर्ने सम्भावना र मह पनि गुणस्तरीय नहुने भएकाले दाङतिर चराउन लैजान्छौँ।”

मौरीपालनमा राम्रो आम्दानी हुने भए पनि किसानहरूले मह बिक्रीमा समस्या भोगिरहेको उनले बताए। ९० घारबाट एक पटकमा कम्तीमा पाँच सय किलो मह उत्पादन हुने भए पनि नेपाली किसानको महले उचित मूल्य नपाएको उनको गुनासो छ। भारतबाट कम गुणस्तरको मह आउँदा गुणस्तरीय नेपाली महको बिक्रीमा समस्या भएको उनले बताए।

“यहाँ विचौलियाको बिगबिगी छ, हामीले उत्पादन गरेको महलाई प्रतिलिटर रु २५० भन्दा बढी तिर्न खोज्दैनन्,” उनले भने, “कम्तीमा पनि प्रतिलिटर रु ४०० सम्म बिक्री गर्न पाए हामीलाई पनि राम्रो हुन्थ्यो।” सस्तोमा मह बिक्री गर्नुभन्दा नबेच्ने भन्दै धेरै किसानले मह घरमै राख्ने र आफैँले ब्राण्डिङ गरेर बिक्री गर्ने गरेको उनले बताए। रानासँग अहिले पनि करिब ६०० किलो मह मौज्दात छ।

नवलपुरको देवचुलीका मौरीपालक किसान नन्दु सापकोटाले व्यावसायिक रूपमा मौरी पाल्दै आएका किसानहरूले उत्पादन गरेको मह बिक्री नहुँदा जिल्लाका धेरै किसान समस्यामा परेको बताए। नवलपुरमा हाल १५० भन्दा बढी व्यावसायिक मौरीपालक किसान रहेको र थोरै घार मौरी पाल्ने किसानको संख्या पनि उल्लेख्य रहेको सापकोटाले बताए। मह स्वास्थ्यका लागि लाभदायक भए पनि बहुराष्ट्रिय कम्पनीका कारण नेपाली किसानको मह बिक्री हुन नसकेको उनको भनाइ छ।

व्यावसायिक रूपमा मौरीपालन गर्ने किसानले एउटा घारमा १० वटा फ्रेम बनाएर मौरी राख्ने र प्रतिघार बर्सेनि ६० किलोसम्म मह उत्पादन हुने सापकोटाले बताए। तोरी फुल्ने समयमा मह उत्पादन सहज भए पनि अन्य समयमा चरनको समस्या हुने गरेको उनको भनाइ छ। रुदिलो, फापर, फिलिङ्गे, सिलाम, सूर्यमुखी, धनियाँ, ज्वानो, मेथी, चिउरी, भोर्लेजस्ता मौरीले रस पाउने बोटबिरुवा चरनका लागि राम्रो भए पनि किसानले ती खेती गर्न छाडेको उनले बताए।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *