अर्थ

मधेशको मुख्यमन्त्री कार्यालयका फाइल अख्तियारको छानबिनमा

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मधेश प्रदेशको मुख्यमन्त्री कार्यालयबाट विभिन्न योजनाका फाइलहरू नियन्त्रणमा लिएको छ।

अख्तियारको बर्दिबासस्थित टोलीले स्वच्छता अभियान, सफ्टवेयर खरिद र सुरक्षा उपकरणसम्बन्धी फाइलहरू संकलन गरेको हो। ती योजना तत्कालीन मुख्यमन्त्री लालबाबु राउतको कार्यकालमा कार्यान्वयन भएका थिए।

तीन महिनाअघि परेको उजुरीपछि अख्तियारले छानबिन थालेको हो। एक अख्तियार अधिकारीका अनुसार, सफ्टवेयर खरिदमा अनियमितता भएको आशंका गरिएको छ।

सफ्टवेयर खरिदमा अनियमितता

आर्थिक वर्ष २०७७/७८ मा एक करोडभन्दा बढी रकम खर्चेर निजामती पीआइएस सिस्टम, अफिस अटोमेसन सिस्टम र जिन्सी अटोमेसन सिस्टमजस्ता सफ्टवेयर खरिद गरिए। तर, ती सफ्टवेयर अहिलेसम्म प्रयोगमा छैनन्, स्टोरमा समेत दाखिला नगरिएको पाइएको छ।

स्वच्छता अभियानमाथि पनि छानबिन

मुख्यमन्त्री स्वच्छता अभियान २०७५\७६ देखि २०७७/७८ सम्म संचालनमा थियो। तर, यस अभियानमा अनियमितता भएको आरोप लागेपछि तत्कालीन मुख्यमन्त्री राउतले बदनामीबाट बच्न यो कार्यक्रम भौतिक पूर्वाधार मन्त्रालयमा समायोजन गरेका थिए। अख्तियारले पछिल्लो पाँच दिनदेखि मुख्यमन्त्री कार्यालयसँग निरन्तर सम्पर्क गर्दै फाइल खोजी गरिरहेको थियो। अब अख्तियारले थप अनुसन्धान अघि बढाउने तयारी गरेको छ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *