अर्थ

कुवेरधाम पर्यटकीय गन्तव्य बन्दै, पूर्वाधार निर्माणमा तीव्रता

बागलुङ। बागलुङ नगरपालिका–५ मालिका पञ्चासेमा रहेको कुवेरधामलाई धार्मिक पर्यटकीय गन्तव्य बनाउने उद्देश्यले पूर्वाधार निर्माणलाई तीव्रता दिइएको छ। कुवेरले साधना गरेको र धनकुवेरको नामले परिचित यस क्षेत्रमा हिमालयन बाबाको अगुवाइमा विभिन्न संरचना निर्माण भइरहेका छन्।

धार्मिक महत्त्व बोकेको यस स्थानमा ५४ फिट अग्लो कुवेरको मूर्तिसहित सिसमहल, जनकल्याण भवनलगायत संरचना निर्माणको योजना छ। यसका लागि नौ करोड ६४ लाख रुपैयाँको गुरुयोजना तयार पारिएको छ। बागलुङ नगरपालिकाले तीन लाख रुपैयाँ खर्चेर विस्तृत आयोजना प्रतिवेदन (डिपिआर) तयार पारेको हो।

गण्डकी प्रदेश सरकारको पर्यटन मन्त्रालयको १० लाख रुपैयाँ सहयोगमा मन्दिरलगायत संरचना निर्माण सुरु भएको छ। तीन वर्षयता कुवेरधाममा धार्मिक संरचना निर्माणले तीव्रता पाएको छ। दाताको सहयोगमा सडक स्तरोन्नति, कुटी निर्माण, आश्रयस्थल, शौचालय, पदमार्गलगायत संरचना बनिरहेका छन्।

कुवेरले साधना गरेको पञ्चासेमा प्राचीन कुवेरधाम शिला र मन्दिर थियो। अहिले जीर्णोद्वार भइरहेको यो मन्दिर र पाँच रोपनी क्षेत्रफलमा निर्माण हुने संरचनाले धार्मिक पर्यटकलाई आकर्षित गर्ने विश्वास गरिएको छ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *