अत्तरिया (कैलाली)। कैलाली भन्सार कार्यालय धनगढीले चालु आर्थिक वर्ष २०८१/८२ को पहिलो आठ महिनामा ५ अर्ब ३४ करोड १९ लाख रुपैयाँ राजस्व सङ्कलन गरेको छ। कार्यालयले साउनदेखि फागुन मसान्तसम्मको अवधिमा यो राजस्व सङ्कलन गरेको हो।
सूचना अधिकारी खिमप्रसाद अर्यालका अनुसार, यस अवधिमा भन्सार महसुलतर्फ २ अर्ब ५९ लाख, मूल्य अभिवृद्धि करतर्फ २ अर्ब ४१ लाख, अन्तःशुल्कतर्फ १३ करोड ८२ लाख र अन्य शीर्षकमा १ अर्ब १९ करोड ३५ लाख रुपैयाँ सङ्कलन भएको छ। चालु आर्थिक वर्षमा ११ अर्ब १६ करोड २६ लाख रुपैयाँ राजस्व सङ्कलनको वार्षिक लक्ष्य राखिएकोमा, आठ महिनामा लक्ष्यको ४७.८६ प्रतिशत मात्रै सङ्कलन भएको छ।
साउनदेखि फागुनसम्मको मासिक राजस्व सङ्कलन विवरण यसप्रकार छ: साउनमा ५७ करोड ५० लाख, भदौमा ५३ करोड ८४ लाख, असोजमा ६७ करोड २४ लाख, कात्तिकमा ६२ करोड ७८ लाख, मङ्सिरमा ८१ करोड १३ लाख, पुसमा ६५ करोड ८७ लाख, माघमा ७३ करोड २ लाख र फागुनमा ७२ करोड ७६ लाख रुपैयाँ।
सूचना अधिकारी अर्यालले पेट्रोलियम पदार्थलगायत प्रमुख राजस्व सङ्कलन हुने वस्तुको आयातमा कमी आएकाले लक्ष्यअनुसार राजस्व सङ्कलन गर्न नसकिएको बताए।
गत आर्थिक वर्ष २०८०/८१ मा पनि कार्यालयले लक्ष्यअनुसार राजस्व सङ्कलन गर्न सकेको थिएन। ११ अर्ब ५८ करोड २४ लाख रुपैयाँको वार्षिक लक्ष्य राखिएकोमा ७ अर्ब ९१ करोड ८० लाख रुपैयाँ मात्रै सङ्कलन भएको थियो, जुन लक्ष्यको ६८.३६ प्रतिशत मात्रै हो।




