झापा। भारतले नेपालमा उत्पादित प्लाइउडलाई नाकामा रोकेपछि पूर्वी नाकाबाट प्लाइउड निर्यात ठप्प भएको छ । प्लाइउड बोकेका ३४ वटा ट्रकलाई भारतस्थित पानीट्याङ्की स्थल भन्सार कार्यालय रानीगञ्जले रोकेको मेची उद्योग वाणिज्य सङ्घले जनाएको छ ।
ती ट्रकहरु दुई साताअघि काँकडभिट्टा नाकाबाट भारत गएका थिए । भारतीय भन्सार कार्यालयले ब्युरो अफ इन्डियन सर्टिफिकेट (बीआइएस) नभएको भन्दै नेपाली सामानलाई रोकेको हो । बीआइएस भारत सरकारको गुणस्तर प्रमाणपत्र हो । भारतले आयात हुने सामान बिआइएस प्रमाणित हुनुपर्ने नयाँ नियम लगाएपछि नेपालबाट प्लाइउड, सिमेन्टलगायत उत्पादनहरुको निर्यात अवरुद्ध भएको छ । काँकडभिट्टा मात्र नभई नेपालका अरु नाकाबाट भारत निर्यात हुने प्लाइउडमा पनि भारतले अवरोध पु-याइरहेको छ ।
नेपालमा ८० वटा प्लाई उद्योग स्थापना भएका छन् । एउटा उद्योग स्थापनाका लागि न्यूनतम रु २५ करोड लगानी हुने उद्योगीहरु बताउँछन् । नाकामा भारतीय पक्षबाट भइरहेको अवरोध नहटे प्लाइउड उद्योगमा भएको अर्बौं लगानी जोखिममा पर्ने र हजारौँले रोजगारी गुमाउने जनाइएको छ ।
आर्थिक वर्ष २०८०/८१ मा नेपालबाट रु सात अर्ब ४३ करोड मूल्य बराबरको प्लाइउड भारत निर्यात भएको थियो । आव २०७९/८० मा रु चार अर्ब ७० करोड र आव २०७८/७९ मा रु ३५ करोड मूल्य बराबरको प्लाइउड भारत निर्यात भएको थियो ।
भारतीय भन्सार अवरोध नहटेपछि प्लाइउड उद्योगले कामदारहरुको काम गर्ने अवधि कटौती गर्न थालेका छन् । विगतमा २४ घण्टा चल्ने प्लाइउड कारखानाहरु हाल मुस्किलले आठ घण्टा सञ्चालन भइरहेका छन् ।
प्लाइउडको निर्यात अवरोध हटाउन माग गर्दै मेची उद्योग वाणिज्य सङ्घले नेपाल उद्योग वाणिज्य महासङ्घलाई समाधानका लागि पहल गरिदिन पत्राचार गरेको छ । महासङ्घले नेपाल सरकार, परराष्ट्रमन्त्री र भारतीय राजदूतावाससँग कुराकानी गरिरहेको सङ्घले जनाएको छ ।




