वीरगञ्ज (पर्सा)। चालु आर्थिक वर्षको आठ महिनामा वीरगञ्ज नाका भएर १ खर्ब २२ अर्ब २० करोड रुपैयाँ बराबरको पेट्रोलियम पदार्थ आयात भएको छ। डिजेल, पेट्रोल, एलपिजी, एटिएफ र मट्टितेल आयात भएको हो।
गत आर्थिक वर्षको सोही अवधिको तुलनामा चालु आर्थिक वर्षमा १ अर्ब ६७ करोड रुपैयाँ बढीको पेट्रोलियम पदार्थ आयात भएको छ। गत आर्थिक वर्षको आठ महिनामा १ खर्ब २० अर्ब ५३ करोड रुपैयाँको पेट्रोलियम पदार्थ आयात भएको थियो। वीरगञ्ज भन्सार कार्यालयका प्रमुख भन्सार प्रशासक दीपक लामिछानेले चालु आर्थिक वर्षमा पेट्रोलियम पदार्थको आयात र राजस्व बढेको जानकारी दिए।
“अहिले पूर्वाधार निर्माणको समय भएकाले पनि पेट्रोलियम पदार्थको आयात बढेको देखिन्छ,” उनले भने। कार्यालयका अनुसार, चालु आर्थिक वर्षको आठ महिनामा सबै प्रकारका पेट्रोलियम पदार्थको आयातबाट ५० अर्ब १३ करोड रुपैयाँ राजस्व सङ्कलन भएको छ। गत आर्थिक वर्षको सोही अवधिमा ४४ अर्ब ८० करोड रुपैयाँ राजस्व सङ्कलन भएको थियो।
चालु आर्थिक वर्षको आठ महिनामा ६१ अर्ब ४५ करोड रुपैयाँ बराबरको ६ लाख ८५ हजार ९९१ किलोलिटर डिजेल आयातबाट २७ अर्ब ३१ करोड रुपैयाँ राजस्व सङ्कलन भएको प्रमुख भन्सार प्रशासक लामिछानेले बताए। यस्तै, चालु आर्थिक वर्षको आठ महिनामा २५ अर्ब ३० करोड रुपैयाँ मूल्यको २ लाख ९० हजार ३८२ किलोलिटर पेट्रोल आयात हुँदा १६ अर्ब ४८ करोड रुपैयाँ राजस्व सङ्कलन भएको छ।
चालु आर्थिक वर्षको आठ महिनामा २४ अर्ब पाँच करोड रुपैयाँ मूल्य बराबरको २१ करोड ४२ हजार ७८१ किलोग्राम एलपिजी ग्यास आयात भएको छ। यसबाट ४ अर्ब ५० करोड रुपैयाँ राजस्व सङ्कलन भएको छ। गत आर्थिक वर्षको आठ महिनामा १९ अर्ब ५२ करोड रुपैयाँको १८ करोड ६८ लाख १२ हजार १२० किलोग्राम एलपिजी ग्यास आयात भएको थियो।




