
देहरादुन (भारत)।भारतको देहरादुनमा जारी इन्डो–नेपाल व्यापार मेलामा नेपाली सिन्की, हस्तकला र विजयसालका भाँडा भारतीयहरूको रोजाइमा परेका छन्।
मेलामा कञ्चनपुरका गणेशराज बोहोराले विजयसालका भाँडा देखाउँदै ग्राहकलाई यसका फाइदाहरू बताइरहेका थिए। उनका अनुसार यी भाँडामा राखिएको पानी खाँदा मधुमेह, उच्च रक्तचाप, कोलेस्टोरेल र शरीरको दुखाइमा फाइदा पुग्छ। ग्राहकहरूले उनका कुरा चाख मानेर सुनिरहेका थिए।
यसअघिका दुई महोत्सवमा राम्रो व्यापार भएपछि हौसिएका बोहोराले यसपालि १०२ वटा भाँडा ल्याएका छन्। उद्घाटनअघि नै नौ वटा बिक्री भइसकेको उनले बताए। विजयसालको काठ पाउन गाह्रो भएपछि उनले पछिल्लो समय ३०० वटा बिरुवा वितरण गरेका छन्।
मेलामा नेपाली रुद्राक्ष तथा बोधिचित्तको माला, सल्यानको खुकुरी, पाल्पाको ढाका, सिन्की, नेपाली पोते, मस्यौरा, रुकुम रोल्पाको भीर मौरीको मह र थाङ्का चित्रकलामा पनि भारतीयहरूले चासो देखाएका छन्।
चितवनको मान्द्रो नेपालकी सञ्चालक अम्बी धितालले नेपाली मस्यौरा, तितौरा लगायतका उत्पादन ल्याएकी छन्। उनको ६० प्रतिशत उत्पादन विदेश निर्यात हुन्छ। यो मेलाले देहरादुनमा बजार विस्तारमा सहयोग गर्ने उनको अपेक्षा छ।
काठमाडौँको राजधानी हस्तकलाकी सञ्चालक रजनी चित्रकारले यसअघिका महोत्सवमा राम्रो व्यापार भएकाले यसपालि पनि सहभागी भएको बताइन्। कञ्चनपुर उद्योग वाणिज्य सङ्घले स्टल निःशुल्क उपलब्ध गराएकोमा उनले धन्यवाद दिइन्।
कैलालीको अभिषेक मौरीपालन फर्मकी उमा खत्रीले सीमाबाट सामान ओसारपसारमा सहज नभएको बताइन्। उनले दुवै देशका सरकारले यस विषयमा ध्यान दिनुपर्ने बताइन्।
काठमाडौँको ग्लोबल नेचर एग्रोटेककी संगीता गुरुङले रोल्पा र रुकुमको भीर मौरीको मह ल्याएकी छन्। भीर मौरीको मह र कोदोको पीठोको बिक्री राम्रो भएको उनको भनाइ छ।
काठमाडौँको कोसेली ढाकाका करुण राईले हातले बुनेका पोशाक ल्याएका छन्। देहरादुनमा नेपालीको सङ्ख्या धेरै भएकाले मेलामा सहभागी भएको उनले बताए।
भक्तपुरको कुवेर थाङ्का एण्ड आर्टस् एण्ड ट्रेडर्सका लायन तामाङले रुद्राक्ष, बोधिचित्तका माला र थाङ्का बिक्रीका लागि राखेका छन्। नेपाली चित्रकलालाई अन्तर्राष्ट्रिय स्तरमा प्रवर्द्धन गर्ने अवसरको रूपमा उनले यसलाई लिएका छन्।
मेलामा अल्लोबाट बनेका वस्तु, सल्यानी खुकुरी, ढाकाका कपडा, नेपाली पोते, जुत्ता र हस्तकलाका सामग्री प्रदर्शनीमा राखिएका छन्। मेलामा नेपालका ५० र भारतका १५० वटा स्टल छन्।