अर्थ

दिगो पर्यटन प्रवर्द्धनमा सहकार्य: पर्यटन बोर्ड र युएनडिपीबीच सम्झौता

काठमाडौं। नेपाल पर्यटन बोर्ड र संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रम (युएनडिपी) ले ‘दिगो पर्यटन परियोजना (एसटिपी)’ सञ्चालन गर्न सम्झौता गरेका छन्। यस परियोजनाले स्थानीय समुदायका लागि रोजगारी सिर्जना गर्ने, पर्यटन सेवासुविधा सुधार गर्ने र पर्यटकीय गन्तव्य प्रवर्द्धन गर्ने लक्ष्य राखेको छ।

बोर्डका प्रमुख कार्यकारी अधिकृत (सिइओ) दीपकराज जोशी र युएनडिपी नेपालकी आवासीय प्रतिनिधि क्योको योकोसुकाले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन्। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव विनोदप्रकाश सिंह र युएनडिपीको एसिया र प्यासिफिक क्षेत्रीय निर्देशक क्रिस्टोफ बहुइटको उपस्थितिमा सम्झौतापत्र आदानप्रदान भएको हो।

५० लाख अमेरिकी डलर लागतको यो परियोजनामा बोर्ड र युएनडिपीले समान १५ लाख अमेरिकी डलर योगदान गर्नेछन्। बाँकी २० लाख अमेरिकी डलर संयुक्त रूपमा परिचालन गरिनेछ। परियोजनाले तीन वर्षमा २ हजार ५०० दिगो रोजगारी सिर्जना गर्ने र ५ हजार जनालाई पर्यटनसम्बन्धी सीप अभिवृद्धि गर्ने लक्ष्य राखेको छ।

परियोजनाले पर्यटकीय स्थलमा साना पूर्वाधार निर्माण, पदमार्ग सुधार र पर्यटन डिजिटलाइजेशनलाई प्रवर्द्धन गर्ने लक्ष्य लिएको छ। बोर्डका सिइओ जोशीले यस परियोजनाले स्थानीय समुदायलाई रोजगार र उद्यमशीलताका अवसर प्रदान गर्ने विश्वास व्यक्त गरेका छन्।

युएनडिपी नेपालकी आवासीय प्रतिनिधि योकोसुकाले यो परियोजनाले स्थानीय समुदायलाई प्रत्यक्ष लाभ पुग्नेगरी नेपालको आर्थिक सम्भावना वृद्धि गर्ने र दिगो पर्यटनलाई प्रवर्द्धन गर्ने प्रतिबद्धता व्यक्त गरिन्।

यो परियोजनाले नेपालको १६औँ योजना, दिगो विकास लक्ष्य र नेपाल पर्यटन दशक (२०२३–२०३२) ले परिकल्पना गरेका प्राथमिकताअनुसार सन् २०३२ सम्ममा वार्षिक पर्यटक आगमन ३५ लाख पु¥याउन सहयोग गर्ने लक्ष्य राखेको छ।

 

 

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *