काठमाडौं । नेपाल धितोपत्र बोर्डको आईपीओको पाइपलाइनमा २ कम्पनी थपिएका छन् ।
आरती पावर कम्पनी र मेवा डेभलपर्स लिमिटेडले आईपीओ बिक्री गर्न माग गर्दै नेपाल धितोपत्र बोर्डमा आवेदन दिएका छन् । योसँगै आईपीओ निष्कासनको अनुमतिको पर्खाइमा रहेका कम्पनीको संख्या ८४ पुगेको छ । यी कम्पनीले बोर्डको अनुमति पाएमा झण्डै ५३ अर्ब बराबरको आईपीओ जारी गर्नेछन् ।
बोर्डका अनुसार पछिल्लो पटक आरती पावर कम्पनी र मेवा डेभलपर्स लिमिटेडले आईपीओ बिक्री गर्न माग गर्दै आवेदन दिएका हुन् । आरती पावरले १०० रुपैयाँ अंकित मूल्यमा ३६ लाख कित्ता शेयर बिक्री गर्न अनुमति मागेको हो । बोर्डबाट स्वीकृति पाएपछि यसले कुल ३६ करोड रुपैयाँ बराबरको आईपीओ बिक्री गर्नेछ । यसमा बिक्री प्रबन्धकको काम ग्लोबल आइएमई क्यापिटलले गर्नेछ ।
त्यस्तै, मेवा डेभलपर्सले पनि १०० रुपैयाँ अंकित मूल्यमा कुल १ अर्ब १२ करोड रुपैयाँ बराबरको शेयर बिक्री गर्न अनुमति मागेको छ । यसले १ करोड १२ लाख कित्ता शेयर बिक्री गर्न अनुमति मागेको हो । यसमा बिक्री प्रबन्धकको काम हिमालयन क्यापिटलले गर्नेछ ।




