अर्थ

साढे २ प्रतिशत बिन्दुसम्म घट्यो कर्जाको ब्याजदर

काठमाडौं । कर्जाको ब्याजदर एक वर्षको अवधिमै साढे २ प्रतिशत बिन्दु घटेको छ । हाल कर्जाको ब्याजदर एकल अंकमा आइपुगेको छ ।

नेपाल राष्ट्र बैंकका अनुसार गत वर्षको माघमा वाणिज्य बैंकहरुको कर्जाको ब्याजदर ११.०८ प्रतिशत थियो । तर, यो वर्षको सोही महिनामा आइपुग्दा भने २.५३ प्रतिशत बिन्दु घटेर ८.५५ प्रतिशत कायम भएको छ ।

यस्तै, विकास बैंकहरुको कर्जाको ब्याजदर पनि २.९५ प्रतिशत घटेर ९.९० प्रतिशत कायम भएको छ । गत वर्षको माघ महिनामा भने यस्तो ब्याजदर १२.८५ प्रतिशत रहेको थियो । यता, वित्त कम्पनीको कर्जाको ब्याजदर पनि ३.०५ प्रतिशत बिन्दु सस्तिएको छ । गत वर्षको माघ महिनामा वित्त कम्पनीको कर्जाको औसत ब्याजदर १३.९३ प्रतिशत थियो । तर, यो वर्षको सोही महिनामा आइपुग्दा भने १०.८८ प्रतिशतमा झरेको छ ।

बैंकिङ्ग प्रणालीमा अधिक तरलता छ । बैंकहरुमा लगानीयोग्य रकम थुप्रिएता पनि कर्जाको माग भने न्युन छ । कर्जाको माग नबढ्दा निक्षेपको ब्याजदर पनि निरन्तर घट्दै आएको छ । निक्षेपको ब्याजदर घटेपछि बैङ्कहरूको लागतमा पनि घटेको छ । जसले कर्जाको ब्याजदर पनि घटीरहेको छ । हाल वाणिज्य बैंकहरुको निक्षेपको ब्याजदर पनि औसत ४.६२ प्रतिशत कायम भएको छ । जबकि, गत वर्षको माघ महिनामा भने यस्तो ब्याजदर ७.०१ प्रतिशत थियो ।

यस्तै, विकास बैंकको निक्षेप औसत ब्याजदर ५.४१ प्रतिशत र वित्त कम्पनीको ६.४७ प्रतिशत छ । गत वर्षको माघ महिनामा भने यस्तो ब्याजदर क्रमशः ८.२६ प्रतिशत र ९.४५ प्रतिशत रहेको थियो ।

बैंक तथा वित्त कम्पनीहरुको निक्षेपको ब्याजदर घट्दा कर्जाको ब्याजदर पनि घटेको छ भने लागत घट्दा आधार दर (बेस रेट) पनि घट्दै गएको छ ।

एक वर्षको अवधिमा वाणिज्य बैंकहरुको औसत आधार दर २.६ प्रतिशत बिन्दु घटेर ६.६३ प्रतिशत कायम भएको छ । यस्तै, विकास बैंकहरुको औसत आधार दर ८.५२ प्रतिशत र वित्त कम्पनीको ९.३९ प्रतिशत रहेको छ । जबकि, गत वर्षको माघ महिनामा भने क्रमशः ११.१३ प्रतिशत र १२.७० प्रतिशत रहेको थियो ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *