काठमाडौँ । सामाजिक सञ्जालहरूमा विभिन्न बैंक तथा वित्तीय संस्थाहरूको नाम प्रयोग गरी प्रेषित गरिएको भ्रामक र गलत अभिव्यक्तिहरू प्रति ध्यानाकर्षण भएको नेपाल बैंकर्स संघले जनाएको छ ।
शुक्रवार संघले एक विज्ञप्ति जारी गर्दै यस क्षेत्रलाई खलबलाउन केही अराजक गतिविधिहरू भइरहेको जनाएको हो ।
संघले नेपालका बैंक, वित्तीय तथा लघुवित्त संस्थाहरूमा जोखिम बहन गर्ने क्षमता भएको र आजको दिनमा यी संस्थाहरु सुरक्षित रहेको स्पष्ट पारेको छ । अन्तर्राष्ट्रिय बैंकिङ्ग सिद्धान्त लगायतको व्यवस्थाहरू तथा नेपाल राष्ट्र बैंकले तोकेको नीतिगत व्यवस्थाहरूको पालना गर्दै बैंकिङ्ग क्षेत्र उदाहरणको रुपमा स्थापित भएको बताइएको छ ।
विज्ञप्तिमा उल्लेख छ ‘यस सङ्घहरूसँग सम्बन्धित सबै बैंक तथा वित्तीय संस्थाहरूमा रहेको निक्षेपकर्ताहरुको रकम पूर्णरुपमा सुरक्षित रहेको र नेपाल राष्ट्र बैंकबाट जारी निर्देशन बमोजिम प्राकृतिक व्यक्तिका नाममा बचत तथा मुद्दती खातामा रहेको रु ५ लाख सम्मको निक्षेप नेपाल सरकारद्वारा स्थापना गरिएको निक्षेप तथा कर्जा सुरक्षण कोष मार्फत सुरक्षण गरिएको स्मरण गराउँदछौ ।’
संघले सामाजिक सञ्जालहरूमा देखिने गलत तथा भ्रामक टिप्पणीहरूमा कुनै ध्यान नदिन आग्रह गरेको छ । सम्बन्धित सरोकार निकायहरूले सम्प्रेषण गरेको सूचना र समाचारहरूलाई मात्र आधिकारिक रुपमा लिन अनुरोध गरिएको छ ।
साथै, आम–सर्वसाधारणहरूलाई त्रसित पार्ने, समाज खलबलाउने, गलत र आपत्तिजनक अभिव्यक्ति दिने र ग्राहकलाई बैंकिङ्ग सेवा प्रयोग गर्ने अधिकारबाट वञ्चित गराउनेहरूलाई कानुनको दायरामा ल्याई आवश्यक कारबाही गर्न समेत सरकारी निकायहरूलाई संघले आग्रह गरेको छ ।





