अर्थ

सुन्तलाखेतीमा जलवायु परिवर्तनको प्रभाव

डुम्रे (तनहुँ)। म्याग्दे गाउँपालिका–३ गुञ्जार उमाचोक, देवघाट गाउँपालिका–२ र ३ नम्बर वडा सुन्तलाखेतीको पकेट क्षेत्रका रूपमा मानिन्छन् । गुञ्जार उमाचोकमा केही वर्षअघि सुन्तला उत्पादन प्रशस्त हुनेमा पछिल्लो समय उत्पादनमा कमी आएको गुञ्जारका सुन्तला किसान निरे विकले बताए।

उनले भने, “दुई/तीन वर्षअघिसम्म यहाँ प्रशस्त सुन्तला उत्पादन हुन्थ्यो, आम्दानी पनि मनग्ये हुन्थ्यो । अहिले के भयोभयो, फल नै लाग्दैन, सुन्तलाको बोटमा विभिन्न रोग देखापर्ने समस्या आएको छ ।” आम्दानीको स्रोत यही भएका हामीजस्ता किसान मारमा परेका उनले उल्लेख गरे।

“पहिले समयमा आकाशे पानी पर्थ्यो, अहिले सुन्तलाले फूल खेल्ने बेलासम्म पनि पानी पर्दैन”, विकले भने, “करिब एक सय ५० सुन्तलाको बोटमा रोग देखिएको छ, फल पनि लाग्दैन, के भएको हो ? कृषि ज्ञान केन्द्रका प्राविधिकसँग सोधपुछ गरिरहेका छौँ ।” यसको समाधान केही नभएको प्राविधिकबाट जवाफ पाएको उनले जानकारी दिए।

विगतमा एउटा बोटको सुन्तला एक क्रेट हुने भए पनि अहिले एक किलो पुग्नसमेत मुस्किल हुने गरेको विकको अनुभव छ । अघिल्लो वर्षसम्म पनि प्रशस्त उत्पादन लिएको सम्झँदै उनले वर्ष फल कम लागेका उत्पादन घट्दै गएको बताए। गत वर्ष रु दुई लाख ५० हजार आम्दानी गरेका सुनाउँदै उनले यस वर्ष आधा पनि नहुने उल्लेख गरे ।

किसान रामबहादुर अधिकारीले भने, “सुन्तलाले फूल खेल्ने बेलामा पानी पर्नै छोडेको छ, अचेल मौसम फेरिएको जस्तो पो लाग्छ, पानीको अभावले सुन्तला उत्पादनमा कमी आउन थालेको छ ।” फूल खेल्ने बेलामा पानी नपरेर फल लाग्नै नसकेको भन्दै सिँचाइका लागि पानी नहुँदा उत्पादनमा कमी आएको उनको बुझाइ छ ।

“यहाँ सिँचाइका लागि पानीको मुहान पर्याप्त छैनन्, एकमात्र कुवाको पानी गाउँलेले पिउनुपर्ने र वस्तुभाउलाई खुलाउनुपर्ने बाध्यता छ”, अधिकारीले भने, “त्यही मुहानबाहेक अरु छैन, सिँचाइका लागि पानी अभाव छ ।” आकाशे पानीको भरपर्नुपर्ने भए पनि आजकाल पानी पर्ने समय फेरिएको उनले बताए।

सुन्तला उत्पादन वृद्धि गर्न फूल खेल्ने बेलामा कृत्रिम परागसेचन गराउन प्रविधि प्रयोग गर्न सकिने कृषि ज्ञान केन्द्र तनहुँले जनाएको छ । सुन्तलाको परागसेचनका लागि प्राकृतिक भए उत्कृष्ट भन्दै नेपालमा कृत्रिम परागसेचन गर्ने प्रविधि प्रयोगमा नआएको केन्द्रका सूचना अधिकारी किरण परियारले बताए।

उनले भने, “प्राकृतिक रूपमा हुने उत्पादन जैविक र सेवनका लागि उपयुक्त मानिन्छ । कृषिप्रधान देशमा यस्ता कृत्रिम प्रविधि कम प्रयोग हुन्छन्, वा प्रयोग नै हुँदैनन् । प्रकृतिमा परिवर्तन आउँदा किसान मारमा परेका छन् ।”

जिल्लास्थित कृषि ज्ञान केन्द्रका प्रमुख गोपाल शर्मा लामिछानेले विगतमा छदेखि आठ सय मिटरसम्मको उचाइ सुन्तला उत्पादन राम्रो हुने गरेको बताए। “अहिले बिस्तारै तापक्रम बढ्दै गएको छ, नौ सय मिटरभन्दा तलका क्षेत्रमा सुन्तला उत्पादन कम भएका छन्”, उनले भने, “सुन्तला उत्पादनका लागि मौसम चिसो आवश्यक पर्दछ । पहिला उपयुक्त मौसम थियो, अहिले यहाँको तापक्रम बढ्दो छ, जसले उत्पादन कम हुँदै गएको छ । कतिपय ठाउँमा उत्पादन हुनै छाडेका छन् ।”

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *