अर्थ

५० हजार पेजको विवरणसहित टिआडी मिटरको बिल लेखा समितिलाई बुझाउने तयारीमा प्राधिकरण

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले टाइम्स अफ डे (टिओडी) डेटा समेटिएको विवरण लेखा समितिलाई बुझाउने भएको छ । उद्योगीहरुले आफुहरुले विद्युत प्रयोग नगरेकाले प्राधिकरणको निर्देशन अनुरुप विद्युत महशुल नतिर्ने बताएपछि प्रमाणसहित प्राधिकरणले लेखासमितिमा करिब ५० हजार पेजको टिओडी मिटरको बिल पठाउन लागिएको नेपाल विद्युत् प्राधिकरणका प्रवक्ता चन्दनकुमार घोषलेले जानकारी दिए । उद्योगले प्रयोग गरेको विद्युत् बक्यौता उठाउने क्रममा उद्योगीले प्राधिकरणले आफू खुसी बिल काटेर पठाएको भन्दै विरोध गरिरहेको बेला टिआडी मिटरको बिल लेखा समितिलाई बुझाउन लागेको हो । टिओडी मिटरमा कुन समयमा कुन उद्योगले कति विद्युत् खपत गरेको छ भन्ने डेटा रहेको छ ।

नेपाल विद्युत् प्राधिकरणका प्रवक्ता चन्दनकुमार घोषले करिब ५० हजार पेजको टिओडी मिटरको डेटा लेखा समितिमा बुझाउन लागिएको नेपाल प्रेससँग बताए ।डेटिकेटेड र ट्रङ्क लाइन प्रयोग गरेको उद्योगहरुको टिओडी मिटरको डेटा समेटिएको करिब ५० हजार पेजको विवरण करिब २ वटा गाडीमा लगेर बुझाउने तयारी रहेको प्राधिकरणले जनाएको छ ।

राजनीति समिकरण परिवर्तन भएपछि प्रधानमन्त्री बनेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले उद्योगीलाई मारमा नपारी काटिएका उद्योगहरुमा विद्युत जोड्न निर्देशन दिएपछि प्रधानमन्त्रीको निर्देशनलाई नमानी काम गरिरहेका प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ्ले प्राधिकरणमा उक्त विषयको प्रमाण भएको भन्दै लेखा समितिमा पेश गर्न लागेका छन् । समितिमा बुझाएपछि छानबिन भएपछि यदि उद्योगीहरुले विद्युत प्रयोग गरेर महशुल नतिरेको पुष्टि भए तत्काल उद्योगीहरुले उक्त रकम प्राधिकरणलाई बुझाउनुपर्छ ।

केही दिन लेखा समितिमा उद्योगी, प्राधिकरण र समितिका बिच विद्युत् बक्यौताको विषयमा छलफल भएको छलफलमा समितिले प्राधिकरणलाई टिओडी मिटर पेस गर्न निर्देशन दिएको थियो । सोही निर्देशन अनुसार प्राधिकरणले बिहीबार टिओडी मिटर बुझाउने तयारी गरेको हो ।

लामो समयदेखि उद्योग प्रयोग गरेको विद्युत्को बक्यौता उठाउने विषयमा विवाद हुँदै आएको छ । उद्योगीले प्रयोग नै नगरेको विद्युत्को बिल पठाएको भनेर प्राधिकरणको विरोध गरिरहेका छन् । तर प्राधिकरणले प्रयोग गरेको विद्युत्को बक्यौता उद्योगीले नतिरि नहुने बताएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *