अर्थ

ललितपुर महानगरको बजेट ७ अर्ब ४६ करोड

काठमाडौं । ललितपुर महानगरपालिकाले आगामी आर्थिक वर्षका लागि ७ अर्ब ४६ करोड ८३ लाख रुपैयाँको बजेट विनियोजन गरेको छ । चालू वर्षका लागि ६ अर्ब ५० करोड रुपैयाँको बजेट ल्याएको थियो । विगतको तुलनामा ललितपुरले आगामी वर्षका लागि बजेटको आकार १५ प्रतिशतले बढी ल्याएको हो ।

महानगरपालिकाले चालूतर्फ २ अर्ब ७८ करोड ८९ लाख ६९ हजार विनियोजन गरेको छ । चालु आर्थिक वर्षका लागि २ अर्ब ४९ करोड ८४ लाख ४२ हजार रुपैयाँ चालू खर्चतर्फ विनियोजन भएको थियो ।

विनियोजन भएकोमा आगामी वर्षमा सामाजिक सुरक्षा भत्ता बापत थप १५ करोड विनियोजन भएको छ । यस्तै अन्य प्रशासनिक खर्च तर्फका पारिश्रमिक लगायतका अनिवार्य दायित्वको रूपमा रहेको खर्चमा हुने वृद्धिका आधारमा चालु खर्च तर्फ गत वर्षको तुलनामा करिब २९ करोड बढ्ने प्रक्षेपण गरिएको छ। अर्थात् यो रकम चालु वर्षको तुलना ११ प्रतिशत बढी हो ।

पुँजीगत खर्चतर्फ आगामी आर्थिक वर्षका लागि ४अर्ब ६७ करोड ९४ लाख २३ हजार विनियोजन गरेको उपप्रमुख मञ्जली शाक्य बज्राचार्यले जानकारी दिइन् । चालु आर्थिक वर्षमा पुँजीगत खर्च ४ अर्ब २१ लाख ४६ हजार विनियोजन भएकोमा बहुवर्षीय तथा अधुरा योजनाहरूको भुक्तानी र पूर्वाधार विकासका लागि थप खर्च हुने आङ्कलन गरी गत वर्षको भन्दा करिब ६८ करोड रकम पुँजीगत खर्चमा थप हुने गरी प्रस्ताव गरिएको छ। अर्थात् यो रकम चालु वर्षको तुलना १७ प्रतिशत बढी हो।

वडास्तरीय कार्यक्रम र विषय क्षेत्रगत कार्यक्रम पूर्वाधार विकास बाहेकका लागि चालु आर्थिक वर्षमा विनियोजन भए अनुसार नै हाराहारीमा आगामी वर्षका लागि बजेट प्रस्ताव गरिएको छ । विषय क्षेत्रगत कार्यक्रम अन्तर्गत पूर्वाधार विकास तर्फ १५ करोड थप गरी ४५ करोड ६२ लाख कायम हुने गरी बजेट छुटयाईए‌को छ ।

माथि उल्लेखित सीमा भित्र रही बडा समिति र विषय क्षेत्रगत समितिले बजेट प्रस्ताव गरी पेश गरेको र सोही बमोजिम बजेट विनियोजन भएको उपप्रमुखले घोषणा गरिन् ।

आर्थिक वर्ष २०८१्÷०८२को लागि महानगरपालिकाको विनियोजन विधेयक सभामा छुट्टै प्रस्तुत गरिएको छ । आगामी वर्षका लागि विनियोजित बजेटमध्ये स्रोत व्यवस्थापनतर्फ सङ्घीय सरकारबाट १ अर्ब ३२ करोड ८० लाख र बागमती प्रदेश सरकारबाट २२ करोड ९२ लाख ९२ हजार रुपैयाँ प्राप्त गर्नेछ ।

आन्तरिक स्रोतको रूपमा रहेको आन्तरिक आय ९आन्तरिक राजस्व, मालपोत रजिस्ट्रेसन शुल्क, मनोरञ्जन कर० आदी बाट ३ अर्ब ५५ करोड ९६ लाख सङ्कलन हुने महानगरको अनुमान छ । जसमध्ये विकास निर्माणमा जनसहभागिता बापत ८ करोड ५० लाख बराबरको रकम प्राप्त हुने अपेक्षा गरिएको छ ।

अन्तर सरकारी अख्तियारीबाट ८० करोड ६५ लाख प्राप्त हुने अपेक्षा गरिएको छ । विनियोजन बजेटको लागि नपुग हुने १ अर्ब ५४ करोड ४५ लाख नगद मौज्दातबाट व्यहोरिनेछ । करको दायरा वृद्धिका लागि विगतदेखि नै परिचालन गरिएको कर सचेतना कार्यक्रमलाई निरन्तरता दिई राजश्व अभिवृद्धि गरिने, करका दायरा वृद्धिका लागि अन्य वैकल्पिक उपायहरू र रणनीति समेत अवलम्बन गरिने लगायत नीति महानगरले लिएको छ ।

ललितपुर महानगरपालिकाले यस वर्ष नगरवासीको चाहना अनुसार र नक्सा प्रशासनलाई व्यवस्थित गर्न भवन अभिलेखीकरणको कार्य गरिने, भवन अभिलेखीकरण लगायत राजस्वका नयाँ र थप स्रोतहरूबाट १ अर्बभन्दा बढी आन्तरिक राजश्व थप हुने गरी बजेटमा प्रस्ताव गरेको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *